काठमाडौंमा निषेधाज्ञा फेरि एक साता थपियो, डिपार्टमेन्टल स्टोर, किराना पसल समेत खाेल्न नपाइने

-



     सफल आवाज    
     जेठ ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ जेठ । काठमाडाैं उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेकोले एक साताका लागि निषेधाज्ञा थपिएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका ३ प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकपछि थप एकसाता कडा निषेधाज्ञा लगाउने निर्णय भएको बताइएकाे छ। निषेधाज्ञामा तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल बिहान ९ बजेसम्म खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोर चाहिं बन्द गर्ने निर्णय भएको छ । औषधी तथा स्वास्थ्य सामग्री बिक्री गर्ने पसल भने सञ्चालन गर्न पाइनेछ ।

याे समयमा सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थानको सवारीसाधन सञ्चालनमा पनि कडाइ गरिएको छ । ती क्षेत्रका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने गरी समय नै ताेकिएकाे छ ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिइसकेकाे छ ।

जारी आदेशमा सबै प्रकारका भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ । उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकुद सञ्चालन गर्न सख्त मनाही गरिएकाे छ ।