महामारीकै समयमा पोखरामा सुरू भएकाे अक्सिजन प्लान्ट स्थापना महाअभियान

- बतास फाउण्डेसनले सुरु गरेको याे अभियानमा हालसम्म झण्डै ४ करोडको प्रतिबद्धता, लक्ष्य ९ कराेड

-



     सफल आवाज    
     जेठ १२ गते २०७८ मा प्रकाशित



पोखरा, १२ जेठ । कोरोना भाइरसको दोस्रो लहर सुरुसँगै नयाँ भेरियन्टले कैंयौंँ मानिस संक्रमित बनेका छन् । तीमध्ये नेपालमा झण्डै ६ हजार जनाको ज्यान गइसकेको छ । विश्वभर महामारीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) प्रभावले पर्यटकीय नगरी पोखरा पनि आक्रान्त बन्यो । दिनैपिच्छे आफन्तको निधन भएको दुःखद खबरसँगै सामाजिक सञ्जाल श्रद्धाञ्जलीले भरिए । पहिलो लहर सामान्य रुपमा टारेको पोखराले दोस्रो लहरमा भने अक्सिजन अभावमै मृत्यु गन्न थालेपछि यहाँका गन्यमान्य मानिसहरुलाई पिरोल्न थाल्यो ।

पोखराका स्थापित व्यवसायी एवं समाजसेवी आनन्दराज बतासले सामाजिक सञ्जाल फेसबुकबाटै अभियान थाले–अक्सिजन प्लान्ट स्थापनाको । सोही अभियान अहिले बृहत् बन्दै ९ करोडको लक्ष्य राखी महाअभियानको रुपमा संचालित छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न फाउण्डेसन मार्फत संचालित सो अभियान संचालनको एक महिना नपुग्दै झण्डै ४ करोड सहयोगको प्रतिबद्धता भइसकेको छ । ‘रु. १०० दान गरौं, महामारीमा प्राण राखौं’ नाराका साथ आर्थिक संकलन महाअभियानमा ३ करोड ६५ लाखको प्रतिबद्धता आइसकेकोमा सवा २ करोड रुपैयाँ नगद सम्बन्धित खातामा जम्मा भइसकेको महाअभियानका संयोजक एवं बतास फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए ।

‘हाम्रो अभियानमा नागरिकस्तरबाटै सहयोग भएको छ । सानो सानो रकम दान दिनेहरुको पनि स्वीकारेका छौं । सबैजनाको सहयोगले नै सोचेभन्दा बढी सहयोग हुने अपेक्षा गरिएको छ,’ बतास भन्छन्, ‘हामीहरुले अक्सिजन प्लान्टमात्रै नभई आईसियू बेड पनि थप्ने योजना बनाएका छौं ।’

अक्सिजन प्लान्ट निर्माण समितिले अक्सिजन प्लान्ट स्थापनामा आर्थिक सहयोग रकम जुटाउन आफ्नो कार्य व्यवस्थित बनाउँदै लगेको समितिका कोषाध्यक्ष एवं प्रवक्ता नारायण पौडेलले जानकारी दिए।

अक्सिजन प्लान्टकाे सांकेतिक फाेटाे

कहिलेसम्म बनि सक्छ अक्सिजन प्लान्ट ?

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निर्माण हुने सो अक्सिजन प्लान्ट गण्डकी प्रदेशकै सबैभन्दा ठूलो प्लान्ट हुनेछ । सुरुवातमा ५ करोड लागत अनुमान भएकोमा बढीमा ३ करोड ५० लाख लाग्ने जनाइएको छ । सो प्लान्ट बन्न ढिलोमा डेढ महिना लाग्ने बतास फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासले बताए । प्लान्ट प्रतिदिन १ सय ५० सिलिण्डर अक्सिजन उत्पादन क्षमताको हुने अपेक्षा छ ।

जसबाट दैनिक ३ सयदेखि ४ सय बिरामीलाई धान्न सक्नेछ । थप रकम जम्मा भए बमोजिम अस्पतालमै आइसियु बेडको संख्या थप्ने र लागत चाँडै सार्वजनिक गरिनेछ । हाल १० आइसियु बेडको लक्ष्य छ। कोरोना महामारी कहिलेसम्म जाने हो ठेगान नभएको र संक्रमितले उपचार अभावमै ज्यान गुमाउनुपर्ने अवस्था नहोस् भन्नका लागि समितिले थप अभियानमा ९ करोड दान संकलनको संशोधित लक्ष्य राखेको छ । भविष्यमा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापनाको योजना पनि छ । कुनै मानिस बिरामी छ भने घरमै सो अक्सिजन कन्सन्ट्रेटर पुर्याउने र निको भएपछि पुनः फिर्ता ल्याइने व्यवस्था हुनेछ।

अक्सिजन प्लान्ट स्थापनाका संयाेजक आनन्दराज बतास

याे महाअभियानमा कसरी जोडिने ?

‘रु. १०० दान गरौं, महामारीमा प्राण राखौं’ अभियानमा दाताले बतास फाउण्डेसनको ग्लोबल आइएमई बैंक पोखरा शाखामा रहेको खाता नंं ६५०१०१००००४७७ मा सहयाेग रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । साथै घरमै बसीबसी कनेक्ट आइपिएस, क्युआर कोड, बैंक ट्रान्सफरमार्फत खातामा रकम जम्मा गर्न सकिन्छ । चेकमार्फत बैंकमा जम्मा गर्न नसक्ने अवस्था भए विकास आचार्य (पोखरा) ९८०१९३५६६६ र डीके सिंह (काठमाडौं) ९८५११२५९३४ मा सम्पर्क गर्न सकिनेछ ।

सहयोग रकम कम्तीमा १ सय रुपैयाँ हुनुपर्नेछ । कोभिड–१९ का कारण स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी नगद रकम भने निरुत्साहित गरिएको छ । अभियानका सदस्य तथा मिडिया संयोजक दीपेन्द्र श्रेष्ठले ५० हजारभन्दा बढी सहयोग गर्ने दाताको नामावली उच्च प्राथमिकतासाथ सञ्चारमाध्यमबाट सार्वजनिक गरिने बताएका छन ।

कस -कसले गरे २५ लाखसम्म दान ?
सामाजिक कार्यको भावनाले जन्मिएको याे अभियानमा स्वदेश र विदेशमा बस्ने २ सय भन्दा बढी ब्यक्ती र संस्थाहरूले गक्ष्य अनुसारकाे सहयाेग गरिरहेका छन्।

यही अभियानमा २५ लाखसम्म दान गरेर उदारता प्रस्तुत गर्नेहरु पनि प्रशस्तै छन् । अक्सिजन प्लान्ट निर्माणका लागि देवबहादुर ज्वारचन (क्वालिटी एग्रिगेट माइनिङ), वि रिभर माइनिङ प्रालि (बतास अर्गनाइजेसन), क्याविनेट श्रेष्ठ (अध्यक्ष अग्नि इन्कर्पोरेसन, नेपालको लागि महिन्द्र गाडीको बिक्रेता), सुशील प्रधानाङ्ग (सेलवेज/सेल्सबेरी डिपार्टमेन्टल स्टोर्स), पुष्पज्योति ढुंगाना (सूपर मादी हाइड्रोपावर), नारायण पौडेल (अटोवेज प्रालि), केसी ग्रुप पोखरा (स्व. सूर्यबहादुर केसीकाे स्मृतीमा) र बतास फाउण्डेसन लगायतले जनही २५-२५ लाख दान गरेका छन् ।

को–को छन् समितिमा ?
अक्सिजन प्लान्टका लागि आनन्दराज बतासको नेतृत्वमा तदर्थ समिति गठन गरिएको छ । समितिले अर्थ संकलन समन्वय, खरिद प्रस्ताव मूल्यांकनको काम गर्नेछ । सो समितिकाे कोषाध्यक्षमा अटोेवेज प्रालिका अध्यक्ष व्यवसायी नारायण पौडेल छन् । पौडेललाई प्रवक्ताको पनि जिम्मेवारी दिइएकाे छ।

यस्तै, सदस्यमा केसी ग्रुपका किरण केसी, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखे, एभरेस्ट एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठ, सूपरमादी हाइड्रो प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगाना र सेलवेज डिपार्टमेन्टल स्टोर्स प्रालिका अध्यक्ष सुशीलमान प्रधानाङ्ग छन् । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी संरक्षक छन् ।

अक्सिजन प्लान्ट निर्माण समितिका काेषाध्यक्ष तथा प्रवक्ता नारायण पौडेल

सामाजिक कार्यमा बतास फाउण्डेसन

सामाजिक कार्य गर्ने उद्देश्यले बतास फाउण्डेसनको स्थापना भएको हो । फाउण्डेसनले सन् २००८ देखि विभिन्न सामाजिक कार्यमा गरी ५०-६० करोड बराबरको कार्य गरिसकेको फाउण्डेसन अध्यक्ष बतासले जानकारी दिए । उनले भने, ‘हामीहरु अहिलेमात्र हैन, पहिलेदेखि नै सामाजिक कार्यमा क्रियाशील छौं । ७ जना स्थायी कर्मचारी नै छन् । हामीसँग सिस्टम छ । अहिले कोराेना महामारीमा अक्सिजनबिनै मानिसकाे ज्यान नजाओस् भनेर यतापट्टि पनि लागिपरेको हाे ।’

फाउण्डेसनले विभिन्न दाताको पैसाबाट कास्की सहित रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, ललितपुर लगायत जिल्लामा खानेपानी व्यवस्थापन, स्कुल तथा घर निर्माण गरिदिएको छ । फाउण्डेसनले भूकम्पबाट पीडितका लागि हालसम्म साढे ३ सय घर नै बनाइसकेको छ।