रसुवागढी नाकाबाट १० महिनामा १ सय ६१ टन खाद्यान्न आयात

-



     सफल आवाज    
     जेठ १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ जेठ । चालु आर्थिक वर्षको १० महिनामा रसुवागढी नाकाबाट १ सय ६१ टन खाद्यान्न आयात भएको छ ।

गएको साउनदेखि बैशाख मसान्तसम्म १ सय ६१ टन खाद्यान्न आयात भएको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले जनाएको छ । कार्यालयका खाद्य अनुसन्धान अधिकृत नवीन देउजाका अनुसार खाद्यान्न र दलहनको आयात बढी भएको छ ।

नाकाबाट सामग्री आयात हुन थालेपछि खाद्य सामग्रीको आयात बढ्न थालेको उनले बताए ।

चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि बैशाख मसान्तसम्म चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, चामल लगायतका सामग्री आयात भएको छ ।

कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्यान्नको नमुना परीक्षण गर्दै आएको छ । यसअघि नेपालले तोकेका मापदण्ड पुरा नगरेका सामग्री समेत आयात हुन थालेपछि कार्यालयले नमुना परीक्षण गर्न थालेको हो ।

नमुना परीक्षण गर्न थालेपछि मापदण्ड पूरा गरेका सामग्री मात्रै आयात हुन थालेका अनुसन्धान अधिकृत देउजाको भनाई छ । उनका अनुसार यो आर्थिक वर्षको १० महिनामा कार्यालयले १ सय ६३ वटा सामग्रीको नमुना परीक्षण गरेको छ ।

गएको आर्थिक वर्ष २०७६-७७ मा कार्यालयले २ सय ५६ वटा सामग्रीको परीक्षण गरेको थियो । खाद्य सामग्रीको लेवलिङमा भाषाको समस्या देखाउँदै आयातमा रोक लगाइएपछि गएको आर्थिक वर्षमा केही महिना परीक्षण हुन सकेको थिएन ।