नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार पुग्यो १५ अर्ब नजिक

-



     सफल आवाज    
     जेठ १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ जेठ । साताको पाँचौ दिन बिहिबार आज शेयर बजारको कारोबारमा व्यापक रुपमा भिन्नता देखिएको छ ।

राष्ट्र बैंकले दिएको निर्देशनपछि शेयर लगानीकर्ताहरुले शेयर बजारलाई बडो चनाखो भएर नियालेका थिए । राष्ट्र बैंकको निर्देशन लगत्तै आज नेप्सेका सूचकहरु राताम्मै भएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.२० अंकले घटेर २८१५.३९ विन्दुमा पुगेको छ । नेप्से ०.०४ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले घटेर ५०३.७० विन्दुमा पुगेको छ ।

आज २१५ कम्पनीको शेयर कारोबार भएको छ । ४ करोड १८ लाख १३ हजार ९९४ कित्ता शेयरको खरिदबिक्रीबाट १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार अहिलेसम्मकै उच्च हो ।

आज बैंकिङ, होटल तथा पर्यटन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपसमूह राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ ।

यस्तै व्यापार, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन र म्युचुअल फण्ड उपसमूहमा हरियाली छाएको छ । उनीहरु बसैको शेयर बढेको छ ।

आज कारोबारको आधारमा सबैभन्दा बढी अपि पावर कम्पनीको ४३ करोड २८ लाख ३४ हजार ४०१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

लगानीकर्ताकाे मनाेवल बढेकाे हाे ?

जेठको दोश्रो साता आरम्भसंगै शेयर बजारको कारोबार भोल्युममा निकै बृद्धि हुँदै कीर्तिमान नै कायम हुँदै आयाे । जेठ १० गते १३ अर्ब १७ करोड बढीको कारोबार भएकोमा बुधबार सार्वजनिक बिदाको कारण एक दिन आराम पाएको नेप्सेमा बिहिबार कारोबार रकमकाे हिसाबले अर्को नयाँ उच्च रेकर्ड बनाउनुले लगानीकर्तालाई झन् बलियो बनाएको देखिन्छ ।

राष्ट्र बैंकको निर्देशनले शेयर बजारले सन्तुलन गुमाउने त होइन ? वा के होला भन्ने संकोचकाबीच आज झण्डै १५ अर्बको कारोबार हुनुले लगानीकर्ताको आत्मवल झन् बढेको देखाएको छ । बिगतमा लामाे समय २ देखि ७ अर्ब तलमािथकाे कारोबारमा घुमिरहेको थियाे । कहिलेकाँही १० अर्बसम्म काराेबार भएकाे शेयर बजारमा बिहिबार १५ अर्बसम्म मात्रै होईन यो छिट्टै २० अर्बसम्म पुग्नसक्ने शेयर बजारका जानकाहरु बताउँछन् ।

आजको यहि रफ्तारमा शेयर बजारको कारोबारमा बढोत्तरी हुँदै जाने हो भने राष्ट् बैंकको कदमले पक्कै पनि शेयर बजारमा सकारात्मक असर गर्ने देखिएको छ ।