आर्थिक सर्वेक्षण दिउँसो २ बजे सार्वजनिक हुँदै

-



     सफल आवाज    
     जेठ १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ जेठ। सरकारले आर्थिक वर्ष २०७८/७९ काे आर्थिक सर्वेक्षण शुक्रबार दिउँसो सार्वजनिक गर्ने तयारी गरेको छ। अर्थ मन्त्रालयले दिउँसो २ बजे कार्यक्रम गरेर आर्थिक सर्वेक्षण सार्वजनिक गर्न लागेको हो।

आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने कार्यक्रममा सीमित संख्यामा मात्र पत्रकारलाई प्रवेश दिइने छ। जुमबाट हुने कार्यक्रममा फोटो र भिडियोको लागि केही पत्रकारलाई मात्र प्रवेश दिने तयारी मन्त्रालयले गरेको हो।

शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गरेपछि अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट सार्वजनिक गर्दैछन्। आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार (जेठ १५ गते) दिउँसो ४ बजे सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ।

बजेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हल सिंहदरबारबाट सार्वजनिक हुनेछ। प्रतिनिधिसभा विघटन भइसकेकाले सरकारले अध्यादेशमार्फत् बजेट ल्याउन लागेको हो। नयाँ संविधान जारी भएपछि अर्थमन्त्री पौडेलले पहिलो पटक अध्यादेशमार्फत् बजेट ल्याउन लागेका हुन्।

कामचलाउ सरकारले ल्याउन लागेको बजेटमा नयाँ कार्यक्रम समावेश नगरी पुरानालाई निरन्तरता दिनुपर्नेमा विज्ञले जोड दिएका छन्।

अर्थ मन्त्रालय स्रोतका अनुसार कोभिड, निर्वाचन, आर्थिक पुनस्र्थापना, रोजगारी सिर्जना, ठूला परियोजना अगाडि बढाउने र नियमित कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट तयार भएको छ।

बजेटमा प्रधानमन्त्री केपी ओलीको चाहना अनुसार सामाजिक सुरक्षा भत्ता बढ्ने अनुमान गरिएको छ। सबैलाई रिझाउने प्रयास गर्दा बजेटको आकार भने बढ्ने बताइएको छ।