सुरक्षा मापदण्ड अपनाई किराना पसल खुलाउन चेम्बरको आग्रह

-



     सफल आवाज    
     जेठ १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ जेठ । कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि सरकारले निषेधाज्ञामा कडाई गर्दै किराना पसल बन्द गराएपछि नेपाल चेम्बर अफ कमर्सले उक्त निर्णयप्रति विरोध जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिमको कारण अन्यसंगै किराना खाद्य पसल पनि बन्द गर्न सूचना जारी गरेपछि चेम्बरले विज्ञप्ति जारी गर्दै त्यसको विरोध गरेको हो ।

प्रशासनको यस प्रकारको निर्णयले गरिखाने वर्ग मारमा परेको जनाएको छ । दैनिक कामगरी गुजारा चलाउने तथा सर्वसाधारण उपभोक्ताहरु मारमा परेको र किराना पसलहरुमा खाद्यान्न, किराना सामान, दूध, पानी, तरकारी लगायतका चीजविज बिक्री हुने भएकोले सरकारको निर्णयले सर्वसुलभरुपमा आपूर्तिमा समस्या हुने जनाईएको छ ।

यसैबीच चेम्बरले सुरक्षाका सबै मापदण्डको पालना गरेर पहिलेको जसरी किराना पसल खोल्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।