खोपसहित पर्यटनमैत्री नीति समेटेर कार्यक्रम ल्याउन पाेखरा पर्यटन परिषद्को माग

-


     सफल आवाज    
     जेठ १५ गते २०७८ मा प्रकाशित


पोखरा, १५ जेठ । पोखरा पर्यटन परिषद्ले आर्थिक वर्ष २०७८÷२०७९ नीति तथा कार्यक्रममा कोभिड १९ विरुद्धको खोप सम्पूर्णलाई उपलब्ध गराउन र पर्यटन मैत्री नीतिलाई विशेष प्राथमिकता दिएर कार्यक्रम ल्याउन प्रदेश सरकार समक्ष माग गरेको छ ।

परिषद्का अध्यक्ष गोपी भट्टराईले एक विज्ञप्ति जारी गदै नेपाललाई अन्तराष्ट्रिय जगतमा सुरक्षित गन्तब्यका रुपमा सकारात्मक सन्देश दिन पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर खोप व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन् ।

कोरोना महारमारीले लामो समयदेखि मानिसको स्वास्थ्य र दिनचर्या निकै प्रभावित भएको जनाउँदै सम्पूर्णलाई खोप लगाउने व्यवस्था साथै पर्यटन क्षेत्रका सम्पूर्ण व्यवसायी, कर्मचारी र आवद्ध मजदुरहरुलाई तत्काल सम्बोधन हुने गरी राहत प्याकेज कार्यक्रमलाई समेट्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा पहिलो र दोस्रो चरणको कोरोना महामारीले पर्यटन क्षेत्रलाई तत्काल र दीर्घकालिन रुपमा असर गरेकाले तत्काल यस क्षेत्रका समस्यालाई सम्बोधन नगरे व्यवसायीहरु पलायन हुर्दै जाने बताइएको छ । हाल ३० प्रतिशत भन्दा बढी व्यवसायी यस क्षेत्रबाट पलायन भइरहेको स्मरण गराउँदै देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको पर्यटन क्षेत्रलाई जोगाउन सरकारले विशेष नीति ल्याएर लगानी संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।

पर्यटन क्षेत्र ठप्प हुँदा यस क्षेत्रसँग सम्बद्ध मजदुरको अवस्था समेत कष्टकर बन्दै गइरहेकाले सरकारको राहत प्याकेजमा मजदुरलाई पनि समेट्ने गरी कार्यक्रम ल्याउन आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, पर्यटन व्यवसाय ठप्प भएको र यसको प्रभाव पर्यटनमा अझ बढि लामो समय सम्म रहने हुनाले सम्पूर्ण पर्यटन व्यवसायी लगायत विभिन्न क्षेत्रमा बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको किस्ता तथा व्याज आगामी २ वर्षसम्म तिर्न सक्ने कुनै सम्भावना नरहेकाले तसर्थ बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुलाई कर्जाको भुत्तानी तालीकालाई पुनतालीर्कीकरण गर्नुपर्छ ।

मौद्रिक नीतिमा आगामी आर्थिक वर्ष २०७८÷०७९ मा पर्यटनलाई प्राथमिकता प्राप्त क्षेत्रको रुपमा सम्बोधन गरी हरेक बैंकले बढीमा पाँच प्रतिशत ऋण सहुलियत व्याजदरमा पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने गरी व्यवस्था मिलाउनका लागि समेत अनुरोध गरिएको छ ।