शुभकामनामा सीमित गणतन्त्र दिवस : कसले के भने ?

-



     सफल आवाज    
     जेठ १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ जेठ। गणतन्त्र शब्द सुन्दा जनताको छाति फुल्छ। अझ गणतन्त्रका निम्ति परिवाकार सदस्य गुमाएका र आफ्नै ज्यानको बाजी लगाएर युद्ध लडेकाहरुका लागि यो दिन दुःख र उत्सव दुवै हो।

नेपाली जनताका प्रतिनिधिमार्फत् २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र घोषणा हुँदा देश नयाँ युगमा प्रवेश गरेको भन्दै आम नागरिकले खुशीयाली मनाएका थिए। गणतन्त्रका निम्ति जनताको बलिदालाई कुनै पनि शासकले बिर्सनु हुँदैन।

गणतन्त्रका निम्ति भएका प्रजातान्त्रिक आन्दोलन, जनयुद्ध, १९ दिने जनआन्दोलन र विभिन्न संघर्ष आम योद्धाहरुका मनसपटलम ताजै छन्। नेपाली आमाका हजारौं सन्तानको बलिदानीबाट प्राप्त गणतन्त्रलाई औपचारिक मात्र होइन उत्सव मनाउनुपर्छ। आम नेपालीको खुशीको दिन बनाउनुपर्छ। तर, पछिल्ला दिनमा त्यही गणतन्त्रको उपलब्धि संविधानसभाबाट बनेको संविधानको अपव्याख्या शासकहरुबाट हुन थालेको छ। यसले जनतामा निराशा छाउन सुरु भइसकेको छ। जनताको निराशालाई सम्बोधन गर्न जनताका प्रतिनिधिले विवेक प्रयोग गर्नुपर्ने समय आएको छ।

कोरोना महामारीले संसार आक्रान्त हुँदा नेपाल अछुतो छैन। यत्तिबेला नेपाल कोरोनाले सबैभन्दा धेरै प्रभावित छ। त्यसैले पनि आजको गणतन्त्र दिवस औपचारिकतामा सीमित भएको छ। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र दलका शीर्ष नेताले शुभकामना दिएका छन्। शुभकामना आदानप्रदान पनि एउटा खुशीको माध्यम हो। तर, गणतन्त्र घोषणा जस्तो महान् उपलब्धिलाई शुभकामनामा मात्र सीमित राख्नु बलिदानी योद्धाका लागि अपमान हुन्छ। त्यत्तिमात्र होइन बिना उपलब्धि राजाको कुर्सीमा राष्ट्रपति बस्नुमात्र गणतन्त्र होइन। जनताले पनि गणतन्त्रको अनुभूति गर्ने गरी विकास र समृद्धितर्फ मुलुक अगाडि बढेमात्र गणतन्त्रको सही सदुपयोग सम्मान हुन्छ।

सरकारले यस पटक आर्मी अफिसर्स क्लबमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखसँगै संवैधानिक अंगका प्रमुखको उपस्थितिमा गणतन्त्र दिवस मनाउँदै छ । १४ औं गणतन्त्र दिवस मूल समारोह समितिले कोरोना महामारीको समयमा सामान्य ढंगले उत्सव मनाउन आर्मी अफिसर्स क्लबमा कार्यक्रम आयोजना गरेको जनाएको छ ।

राष्ट्रपतिको शुभकामना सन्देश : जनताको विजय भएको पर्वमा उत्सव मनाऔँ

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

चौधौँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारलाई सुनिश्चित गरिसकेका सन्दर्भमा तिनको प्रभावकारी कार्यान्वयन गर्दै विश्वव्यापी महामारी कोभिड–१९ को सङ्क्रमण पुनः तीव्र बनेकाले यसलाई नियन्त्रण गर्न नेपाल सरकारले विभिन्न सहर एवं जिल्लामा जारी गरेको निषेधाज्ञाका नियमको पालना गर्दै जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन आह्वान गरेकी हुन्।

भण्डारीले यस ऐतिहासिक दिवसले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्धन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प सार्थक बनाउन प्रेरणा तथा उर्जा मिलोस् भन्ने शुभेच्छा पनि व्यक्त गरेकी छन्।

गणतन्त्रलाई परिष्कृत गर्न संविधान अनुसार चल्नुपर्छ : उपराष्ट्रपति
गणतन्त्र दिवसको शुभकामना दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्रलाई परिष्कृत गर्नका लागि संविधानसम्मत चल्न आग्रह गरेका छन्। जनअभिमतको कदर गर्न अनिवार्य रहेको जनाउँदै उनले राजनीतिक स्थायित्व, संविधानको संरक्षण, पालन तथा विकास र समृद्धिका लागि प्राप्त भएको जनमतलाई सम्मान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

गणतन्त्र दिवसले गणतन्त्रलाई परिष्कृत, जनमतको कदर, भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता सुदृढ, राजनीतिक समस्याको निराकरण र कोरोना भाइरसको महाव्याधि नियन्त्रण गर्न सबै नेपालीलाई प्रेरणा दिने उनले विश्वास व्यक्त गरेका छन्।

उपराष्ट्रपति पुनले पछिल्लो पटक उत्पन्‍न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन्। उनले सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत, जनताको सर्वोच्चता र न्यायिक मूल्यमान्यताका आधारमा समस्या छिट्टै समाधान हुने कामना गरेका हुन्।

राजनीतिक समस्याबीच पनि सरकार, राजनीतिक दल र सबै पक्षलाई कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न तथा गम्भीर संक्रमितको प्रभावकारी उपचारमा एकजुट भएर लाग्न उपराष्ट्रपतिले अपील गरेका छन्।

गणतन्त्र प्राप्त गर्न भएका जनान्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र ऐतिहासिक जनान्दोलनका शहीदप्रति श्रद्धासुमन व्यक्त गर्दै उपराष्ट्रपतिले शहीद परिवार, घाइते र बेपत्ता योद्धाप्रति सम्मान व्यक्त गरेका छन्। उनले गणतन्त्र प्राप्तिको क्रान्ति र आन्दोलनमा सहभागी सबै नेपाली नागरिकलाई सम्मानका साथै बधाई ज्ञापन गरेका छन्।

जनता सार्वभौम भएको महत्वपूर्ण दिन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले गणतन्त्र दिवसलाई जनता सार्वभौम भएको महत्वपूर्ण दिन भएको बताएका छन् । शनिबार १४ औं गणतन्त्र दिवसको अवसरमा आर्मी अफिसर्स क्लबमा आयोजित गणतन्त्र दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ओलीले सोही अवसरमा सम्पूर्ण नेपाली जनतालाई गणतन्त्र दिवसको शुभकामना दिएका छन् ।
‘गणतन्त्र दिवस नेपाली जनता सार्वभौम भएको दिन हो’, प्रधानमन्त्री ओलीले भने, ‘गणतन्त्रलाई अझ सुदृढ र समृद्धि बनाउन सरकार लागि परेको छ ।’

गणतन्त्र दिवसको मूल समारोह समितिका अध्यक्षको हैसियतमा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जनताको अभिमत प्रकट गर्ने माध्यम नै चुनाव भएकाले सरकारले चुनावमा जाने निर्णय गरेकोसमेत प्रष्ट पारेका छन् ।

जनताको जित भएको विशेष दिन : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले जनताको जित भएको विशेष दिन गणतन्त्र दिवसका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमा उनले नेपाली जनताका प्रतिनिधिमार्फत् २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल भएको बताएका छन्।

‘महत्वपूर्ण दिनमा गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध, १९ दिने जनआन्दोलन एवं विभिन्न संघर्षहरुमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। घाइते तथा अपाङ्ग हुनुभएकाहरु, बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु’, सन्देशमा लेखिएको छ।

नेपाल आमाका हज्जारौं होनहार छोराछोरीको बलिदानको बलमा प्राप्त गणतन्त्रलाई संस्थागत गर्ने संविधानको कार्यान्वयन गर्ने र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई संविधानले निर्दिष्ट गरेअनुसार कार्यान्वयन गर्नु र गराउनु राज्यको सर्बोच्च ओहोदामा रहेका पदाधिकारीहरुको पहिलो कर्तव्य भएको उनको भनाइ छ।

एकातिर गणतन्त्र र संविधानमाथि आइपरेको संकट र अर्कोतिर कोभिड-१९ महामारीबाट आक्रान्त भएको भन्दै उनले यस विषम परिस्थितिमा अझ जिम्मेवारीबोधका साथ अगाडि बढ्नु पर्ने आवश्यकता पैदा भएको बताएका छन्। दिवसको अवसरमा संविधानको मर्म र भावना अनुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा प्रेरणा मिलोस् भन्ने कामना उनले गरेका छन्।

गौरवपूर्ण ऐतिहासिक दिन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवसलाई गैरवको ऐतिहासिक दिन भनेका छन् । शनिबार गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै प्रचण्डले यस्तो बताएका हुन् ।

‘निरंकुश सामन्ती व्यवस्थाको अन्त्य गर्दै नेपाली जनताको बलिदानीपूर्ण संघर्षले स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’, प्रचण्डले भनेका छन्, ‘यस गौरवपूर्ण ऐतिहासिक दिनका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुस्वास्थ्य र प्रगतिको उत्तरोत्तर कामनासहित संविधान र लोकतन्त्र विरोधी तत्वहरुका विरुद्ध एकतावद्ध संघर्षका लागि हार्दिक अपिल गर्दछु ।’

गणतन्त्र दिवसको अवसरमा जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत सबै प्रकारका न्यायपूर्ण आन्दोलनहरुमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनले बेपत्ता एवं घाइते योद्धाहरुमा उच्च सम्मान प्रकट गरेका छन् ।

जनताको ठूलो त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै प्रचण्डले अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको आरोप लगाएका छन् ।

‘प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन । पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामुलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुन्छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्र्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको छ’, उनले भनेका छन् ।

कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुको पालना गर्दै आफू र आफ्नो समाजलाई सुरक्षित राख्न सबैमा अपीलसमेत प्रचण्डले गरेका छन् ।

गणतन्त्र समाप्त पर्ने कोशिस भएको माधव नेपालको शंका

गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्रलाई समाप्त पार्ने कोशिस भइरहेको शंका गरेका छन्। प्रतिनिधिसभा विघटन गलत मनशायले हुँदा गणतन्त्र नै समाप्त पार्ने कोशिस भएको भन्दै उनले आशंका व्यक्त गरेका हुन्।

‘जेठ १५, गणतन्त्र दिवसको अवसरमा स्वदेश र विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु। राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि पटक– पटक भएको ऐतिहासिक जनआन्दोलन र संघर्षमा त्याग एवम् बलिदान गर्ने शहीदहरुलाई स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु’, नेपालले शुभकामना सन्देशमा भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास, समानता र सामाजिक न्यायमा आधारित समाजको विकास र रुपान्तरण गणतन्त्रको प्रमुख उद्देश्य हो।साथै जनताद्वारा निर्वाचित जनप्रतिनिधिमूलक संस्थाहरू गणतान्त्रिक मूल्य(मान्यता बमोजिम जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न लाग्नु उनीहरुको दायित्व हो। तर, त्यस विपरित जननिर्वाचित संस्था प्रतिनिधि सभालाई हठात् रुपमा गलत मनशायका साथ पटक पटक विघटन गरिनुले कतै हाम्रो गणतन्त्रलाई समाप्त गर्ने कोशीस भैरहेको त छैन भन्ने आशंका उत्पन्न भएको छ।’

प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गरी सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआउँदै फेरी पनि प्रतिनिधि सभा विघटन गरिनु त झन् स्वेच्छाचारी र प्रतिगामी भएको उनको भनाइ छ। संवैधानिक मूल्य र मान्यता विपरित चल्ने र राज्यका सबै अंगको हुर्मत लीई आफू मातहत सबै शक्ति केन्द्रित गर्ने कार्यलाई लोकतान्त्रिक मान्न नसकिने उनको ठहर छ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता एवं समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको सम्मान नगर्दासम्म गणतन्त्र सुरक्षित हुन सक्दैन। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता र स्वाभिमान समेतमा गम्भीर खतरा उत्पन्न हॅुदा सशक्त आवाज उठाउनु गणतन्त्रप्रेमी र देशभक्त नागरिकको दायित्व भएको भन्दै उनले ऐतिहासिक दिवसले गणतन्त्रको रक्षाका लागि लोकतन्त्रप्रेमी, देशभक्त, राजनीतिक दल एवं जनसमुदायमा एकताबद्ध भएर अघि बढ्न र गणतन्त्रको रक्षाका लागि लाग्न प्रेरणा मिल्नेछ भन्ने विश्वास व्यक्त गरेका छन्।