गणतान्त्रिक शासन व्यवस्था बलियो बनाए जनता बलियो हुन्छन् : मुख्यमन्त्री

-



     सफल आवाज    
     जेठ १५ गते २०७८ मा प्रकाशित



पाेखरा, १५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पन्ध्रौँ गणतन्त्र दिवसको सुखद् अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना प्रकट गरेका छन्।

नेपाली जनताको लामो त्याग, तपस्या र संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हाम्रो दायित्व हो। जनताका प्रतिनिधिबाट निर्वाचित जनप्रतिनिधि राष्ट्र प्रमुख हुने गणतान्त्रिक शासन व्यवस्थालाई जति बलियो बनाउन सकियो जनता त्यति नै बलियो हुन्छन् भन्ने कुरामा कुनै द्विविधा छैन, उनकाे सन्देशमा उल्लेख छ। 

स्थापनाको पन्ध्रौं वर्षमा आइपुग्दा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानु हाम्रा लागि गर्वको विषय हो। तर मुलुकमा पछिल्लो समय विकसित राजनीतिक अस्थिरताका बीच दलीय व्यवस्थाका आधारभूत मूल्य मान्यता र गणतन्त्रको प्रतीक संस्था राष्ट्रपतिमाथि हमला भइरहनु दुखद छ। यस्ता क्रियाकलापले गणतन्तन्त्रलाई कमजोर बनाउँछन् । यसमा जनता सचेत हुन जरुरी छ।

कार्यकारी अधिकार मन्त्रिषरिषदमा रहने शासन व्यवस्था हुँदा हुँदै पनि सरकारका सिफारिस अनुसार भएका कतिपय कामका लागि सम्माननीय राष्ट्रपतिलाई दोषारोपण गर्नु राजनीतिक सचेतनाको अभावमात्रै होइन गणतन्त्रलाई कमजोर बनाउने नियोजित प्रयास हो भन्ने मैले ठानेको छु । यस्ता क्रियाकलापको हामी सबैले डटेर सामना गर्नुपर्छ। गणतन्त्र बलियो बनाउने मामलामा आआफ्नो ठाउँबाट योगदान गर्न म सबै जनतालाई अपील पनि गर्दछु सन्देशमा लेखिएकाे छ। 

गणतन्त्रात्मक शासन व्यवस्थामा जनअपेक्षा धेरै छन्। यो बेला हामी कोभिड-१९ को महामारीसँग पनि जुधिरहनुपरेको छ र गणतन्त्र कमजोर बनाउन लागिरहेका अराजनीतिक तथा अराजकतासँग लडिरहनुपरेको छ। यी दुवै चुनौतीलाई हामीले परास्त गर्नुपर्छ । निष्ठापूर्वक जनतामा समर्पित भयौं भने कोभिड १९ र गणतन्त्र विरोधी दुवैलाई पराजित गर्न सक्छौं भन्ने दह्रो आत्मविश्वासका साथ म आफ्नो जिम्मेवारी अनुसार लागिपरिरहेको जनसमुदायमा सविनय निवेदन पनि गर्दछु।

गणतन्त्र दिवसको यो ऐतिहासिक अवसरले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई मजबुद बनाउने दिशामा अग्रसर हुन हामी सबैलाई प्रेरणा मिलोस् हार्दिक शुभकामना व्यक्त गर्दछु।