दिउँसो ४ बजे बजेट भाषण : को-को सहभागी हुन्छन् ?

-



     सफल आवाज    
     जेठ १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ जेठ। सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दैछ। शनिबार दिउँसो ४ बजे बजेट सार्वजनिक गर्नेगरी अर्थमन्त्रालयले तयारी पूरा गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हलबाट बजेट भाषण गर्दैछन्।

प्रतिनिधिसभा विघटन भइसकेकाले सरकारले अध्यादेशमार्फत् बजेट ल्याउन लागेको हो। नयाँ संविधान जारी भएपछि अर्थमन्त्री पौडेलले पहिलो पटक अध्यादेशमार्फत् बजेट ल्याउन लागेका हुन्। अध्यादेशमार्फत् बजेट ल्याउन बिहानै मन्त्रिपरिषद् बैठक बसेको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश स्वीकृत गरेपछि बजेट भाषण हुनेछ।

कामचलाउ सरकारले ल्याउन लागेको बजेटमा नयाँ कार्यक्रम समावेश नगरी पुरानालाई निरन्तरता दिनुपर्नेमा विज्ञले जोड दिएका छन्।

सरकारले भने महामारी नियन्त्रण र चुनावी कार्यक्रमलाई केन्द्रित गरेर बजेट तयार पारेको छ। अर्थमन्त्री पौडेलले कोभिड–१९ को सामना गर्ने र चुनाव केन्द्रित बजेट आउने बताएका छन्। कोरोना महामारीले प्रभावित अर्थतन्त्रलाई पुर्नउत्थान र गतिशिल बनाउने संकल्पका साथ बजेट ल्याउने उनको भनाइ छ।

बजेट निर्माण समिति स्रोतका अनुसार कोभिड, निर्वाचन, आर्थिक पुनस्र्थापना, रोजगारी सिर्जना, ठूला परियोजना अगाडि बढाउने र नियमित कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट भाषण हुँदैछ।

तीन हजार रुपैयाँ दिँदै आएको सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा यसअघि नै प्रधानमन्त्री केपी ओलीले गरिसकेकाले त्यो बढ्ने अनुमान गरिएको छ। सरकारले कोरोना महामारीकै बीच प्रधानमन्त्रीको घोषणा कार्यान्वयन स्वरुप वृद्धभत्ता चार देखि पाँच हजारसम्म पुर्याउने बताइएको छ।

सबैलाई रिझाउने प्रयास गर्दा बजेटको आकार भने बढ्ने बताइएको छ। यस वर्ष करिब १६ खर्बको बजेट ल्याउने सरकारको तयारी रहेको छ।

बजेट भाषणामा को–को सहभागी हुन्छन् ?

संवैधानिक प्रावधान अनुसार संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गर्नुपर्ने बजेट यस पटक प्रतिनिधिसभा भंग भएकाले अध्यादेशमार्फत् ल्याउन लागिएको छ।

बजेट भाषण सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हुँदैछ। कोरोना महामारीको समय भएकाले सीमित व्यक्तिको उपस्थितिमा बजेट भाषण हुने अर्थमन्त्रालय स्रोतको दाबी छ।

बजेट भाषण समारोहमा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, मुख्य सचिव, सचिव, योजना आयोगका उपाध्यक्ष, गभर्नर, प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयका सचिवको उपस्थिति रहने छ।

सरकारले निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिलाईसमेत बजेट भाषण समारोहमा निम्ता गरेको छ। सरकारले बजेटलाई कोरोना महामारी नियन्त्रण र निर्वाचनमा केन्द्रित गरे पनि केही नयाँ कार्यक्रमसमेत समेटिएको छ।