बजेटमाथि निजी क्षेत्रकाे यस्ताे छ प्रतिक्रिया

- समग्रमा बजेट सकारात्मक भएकाे व्यवसायीहरूकाे भनाइ

-



     सफल आवाज    
     जेठ १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ जेठ। सरकारले आज आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले सार्बजनिक गरेकाे बजेटमाथि निजी क्षेत्रका संघ संस्थाकाे नेतृत्व गरिरहेका ब्यक्तिहरुले मिस्रित प्रतिक्रिया दिएका छन् । समग्रमा बजेट सकारात्मक भएकाे व्यवसायीहरूकाे भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेकाे प्रतिकुल अवस्थामा आएको बजेट समग्रमा राम्रो भएको बताएका छन् । निजी क्षेत्रले दिएका केही सुझावहरु समेटिएकाे पनि बताए । अप्ठेरो अवस्थामा आएकाे याे बजेटलाइ नराम्रो भन्न नसकिने उनको भनाई छ । ‘हामीले जुनबेला सुझाव दिएका थियौं, त्यसबेला यस्तो अवस्था थिएन’ उनले भने, ‘यो सरकार भनेकाे परिस्थितिको सरकार हो, याे बेलामा धेरै अपेक्षा गर्न पनि भएन, समग्रमा बजेट राम्रो छ ।

बजेट राम्रो भए पनि कार्यान्वयन पक्षमा भने आशंका रहेकाे गाेल्छाले बताए । विगतका बजेटहरुमा पनि राम्रो आए पनि कार्यान्वयन पक्ष फितलो रहेको भन्दै उनले यस वर्ष कार्यान्वयन हुने अपेक्षा गरेकाे बताए ।

आइएमइ ग्रुपका अध्यक्ष तथा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल

आइएमइ ग्रुपका अध्यक्ष तथा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पनि अप्ठेरो परिस्थितीमा आएको बजेट समग्रमा सन्तोषजनक रहेको बताए । आगामी आर्थिक वर्षका लागि अध्यादेशबाट ल्याइएको बजेटका बिषयमा प्रतिक्रिया दिदै उनले निजी क्षेत्रका धेरै सुझावहरु समेटिएको बताए । महामारीका बेला आएको बजेट भएका कारण यसले स्वास्थ्य क्षेत्र नै प्राथमिकतामा राख्नु पर्ने थियो त्यो राखेको छ उनले भने ।

हामी राम्रोसँग हेरेर संस्थागत धारणा पनि रार्वजनिक गर्नेछौं’ ढकालले भने। ‘पर्यटन क्षेत्रलाई उत्पादनशील क्षेत्रको रुपमा ब्याख्या गर्यो यो एकदमै राम्रो छ ।आन्तरिक पर्यटनलाई सकारात्मक गर्ने केहि व्यवस्थाहरु गरिएका छन् । नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई एक महिनाका लागि भिसा फ्रि दिने बजेटमा उल्लेख गरिएको छ । रकम ठूलो नभए पनि यसले राम्रो सन्देश बाहिर जाने उनले बताए ।

‘निजी क्षेत्रले माग गर्दै आएको खनिज जन्य पदार्थहरुले वातावरणीय प्रभावलाई ध्यान गर्दै निर्यात दिनुपर्छ भनेका थियौँ, त्यो सम्बाेधन भएको छ’ वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘समग्रमा बजेट राम्राे छ, कार्यान्वयन पनि राम्रो हुनुपर्नेमा ढकालले जाेड दिए।

कर्मचारीलाई १० दिने भ्रमण बिदा, स्टार्ट अपका लागि बिउँपुँजी दिने व्यवस्था, संरक्षित क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने लगायतका विषयवस्तुहरु राम्रो भएको उनको भनाइ छ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले कामचलाउ सरकारले पपुलिष्ट बजेट ल्याएको र कार्यन्वयन चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । निजी क्षेत्रले दिएको सुझावअनुसार नै बजेट आए पनि सरकारको स्थीरतासंँग बजेट जोडिने भएकाले कार्यन्वनय चुनौतीपूर्ण रहेको कमर्सका अध्यक्ष राजेन्द्र मल्लकाे भनाइ छ।

‘१६ खर्ब ४७ अर्बको बजेटले लिइएको राजश्व संकलन महामारीको बीचैमा कठिन देखिएको उनले बताए । बन्दाबन्दी र कोरोनाले थलिएको अवस्थामा कठिन छ मुलुकले याे अवस्थामा १० खर्बको राजश्व संकलन गर्न सक्ला ?’ कोभिडपछिको पुर्नउत्थानको विषयमा बजेटमा स्पष्ट कुरा नआएकाले व्यवसायीले बजेटबाट पाउने कुरालाई मौद्रीक नीतिसम्म कुर्नुपर्ने अध्यक्ष मल्लको भनाइ रहेकाे छ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बजेटले व्यवसायीलाइ खुसी बनाएको बताए । बजेट आफूहरुको अपेक्षा अनुसार नै आएको र धेरै राम्रो पनि आएको उनको प्रतिक्रिया छ । कर छुट लगायतमा सरकारले बजेटमा ल्याएको राम्रो कार्यक्रमले समस्यामा परेको निजी क्षेत्रलाई मल्हम लगाउने जस्तो देखिएको उनले बताए ।

विगतका बजेटहरु पनि राम्रै आए पनि कार्यान्वयन भने सधै कमजोर हुने गरेको उनले बताए । यसपालि भने अझ राजनीतिक घटनाक्रमले कार्यान्वयनमा थप चुनौती थपेको उनको बुझाई छ । बजेटको राम्रो कार्यान्वयनमा भने अब सरकारले ध्यान दिनु पर्ने उनले बताए ।

‘अहिलेको अवस्था भनेको एकदमै अप्ठेरो अवस्था हो, यस्तो बेलामा आएको बजेट निकै राम्रो छ’ अध्यक्ष कटुवालले भने, ‘यसले समस्यामा परेका ठूलामात्रै होइन साना तथा मझौला उद्योग व्यवसायहरुमा समेत खुसी बनाएको छ, उनले भने ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोर

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले कोभिडको समयमा चुनावी सरकारले पुर्ण बजेट ल्याउनु सुखद भएको बताउँदै कार्यान्वयन चुनौतीपूर्ण रहेको बिचार ब्यक्त गरे । आर्थिक पुर्नउत्थानका लागि बजेट ठिक रहेकाे उनको भनाइ छ ।

परिसंघले सरकारलाई बुझाएको सुझाव कार्यान्वयन भएको भन्दै उनले आयाकरमा छुट तथा उद्योगको लागत घटाउन बजेटले उपयुक्त नीति लिएकोमा खुसी ब्यक्त गरे । उद्योगको डिजेललाई खर्चमा लेख्न पउने व्यवस्था, कच्चापदार्थ आयतमा छुट जस्ता विषयहरू बजेटले समेट्नु सकारात्मक पक्ष भएको अध्यक्ष मोरकाे भनाइ छ ।