विद्युतीय सामानमा प्रोत्साहन, पेय पदार्थमा कडाइ

- बजेटमा राजश्व र करको व्यवस्था

-



     सफल आवाज    
     जेठ १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ जेठ । सरकारले करदातालाई राहत र सहुलीयतलाई प्राथमिकतामा राखेर राजश्व नीति र करको दायरा निर्धारण गरेको छ।

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले शनिबार सरकारले मानव स्वास्थ्य र आर्थिक संकटबाट र्सिजित प्रतिकूल अवस्थामा करदातालाई राहत र सहुलीयतसहित राजश्व नीति र करको दायरा निर्धारण गरेका हुन्।

सरकारले कोरोना महामारीबाट प्रभावित होटल, ट्राभल, ट्रेकिङ, यातायात, हवाइ सेवा, चलचित्र उद्योग र सञ्चार गृहको कर योग्य आयमा एक प्रतिशत मात्रै आयकर लाग्ने व्यवस्था गरेको छ।

सरकारले अघिल्लो आर्थिक वर्षमा २० लाखसम्मको कारोबार भएका करदातालाई ९० प्रतिशत, ५० लाखसम्म कारोबार भएका करदातालाई ७५ प्रतिशत र १ करोड रुपैयाँसम्म कारोबार भएका करदातालाई ५० प्रतिशतले आयकर छुट दिएको छ।

करदाताको करयोग्य कारोबारमा प्रयोग भएको डिजेल र एलपी ग्याँसको खरिद मूल्य अभिवृद्धि कर सरकारले कट्टी गरेको छ। सँगै ढुवानी सेवा र त्यसको भाडा, कार्गो, ई-लाइब्रेरी सेवा, निक्षेप सुरक्षण शुल्क, ट्रेकिङ तथा टुर प्याकेजको सेवा शुल्कमा मुल्य अभिवृद्धि कर छुट दिएको छ।

महामारीको समयमा अतिआवश्यक अक्सिजन ग्याँस, लिक्विड अक्सिजन, सिलिण्डर, कन्सन्ट्रेटरलगायत सामग्री आयात, उत्पादन तथा बिक्री वितरणमा लाग्ने भन्सार महशुल, मुल्य अभिवृद्धि कर र अन्तशुल्क पुस मसान्तसम्मलाई छुट दिएको छ।

विद्युतीय सामानको कर व्यवस्था

सरकारले विद्युतीय सवारी साधनको आयातलाई प्राथमिकता दिएको छ। विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातका साधनको प्रयोग बढाउने नीति सरकारले अख्तियार गरेको हो। त्यसका लागि विद्युतीय सवारी साधनको आयातमा अन्तशुल्क पुरै खारेज गरिएको छ भने भन्सार शुल्कसमेत घटाएको छ।

यस्तै इन्डक्शन चुह्लोको भन्सार महसुल दर घटाएर १ प्रतिशत कायम गरिएको छ। रेफ्रिजेरेटर, राइसकुकर, पङ्खालगायत विद्युतीय उपकरणको अन्तशुल्क खारेज गरेर भन्सार महशुल घटाएको छ।

पेय पदार्थमा बढ्यो अन्तशुल्क

सरकारले पेय पदार्थमा अन्तशुल्क बढाएको छ। मदिरा, बियर, वाइन, चुरोट, सुर्तिजन्य तथा हल्का पेय पदार्थमा अन्तशुल्क वृद्धि भएको हो।

साना करदातालाई लाग्दै आएको करको दर यथावत राखेर आय विवरण बुझाउने कारोबारको सीमा २० लाखबाट ३० लाख पुर्‍याइएको छ।

व्यवसायीक कृषि आयमा लाग्ने करमा ५० प्रतिशत छुट दिइएको छ। सामूहिक व्यवसायिक खेती गर्ने कृषि सहकारी संस्थाले आयात गर्ने एउटा ढुवानीको साधनमा लाग्ने भन्सार शुल्कमा ५० प्रतिशत छुट दिएको छ।