निषेधाज्ञाबीच शेयर बजारमा आयाे चमक, कारोबार १७ अर्ब नाघ्याे

-



     सफल आवाज    
     जेठ १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ जेठ । एकातिर मुलुकभर निषेधाज्ञा जारी छ । अर्काेतिर शेयर बजारमा चमक देखिने र नयाँ नयाँ रेकर्ड बन्ने क्रम निरन्तरता पाइरहेकाे छ ।

साताको पहिलो दिन आइतबार शेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । नेप्से दोहोरो अंकले बृद्धि भएको छ भने कारोबार रकम १७ अर्ब माथि पुग्दै हालसम्मकै उच्च रेकर्ड बनाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १२.५४ अंकले बृद्धि भएर २८२७.९३ विन्दुमा पुगेको छ । आज नेप्से ०.४५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.३५ अंकले बढेर ५०७.०५ विन्दुमा पुगेको छ ।

आज कुल २१९ कम्पनीको शेयर करोबार भएको छ । ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयरको खरिदबिक्रीबाट १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४५ रुपैयाँ बराबरको कारोबार भएको छ । याे जाे हालसम्मकै ऐतिहासिक रेकर्ड हाे ।

आज ७ वटा उपसमूहमा हरियो लागेको छ । उनीहरु सबैको शेयर बढेको छ । बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, फाइनान्स, नीर्जिवनबीमा, जीवनबीमा र म्युचुअल फण्ड उपसमूहहरुको शेयर बढेको हो ।

यस्तै व्यापार, हाइड्रोपावर, उत्पादन, अन्य, माइक्रोफाइनान्स र लगानी उपसमूहमा रातो लागेको छ । उनीहरु सबैको शेयर घटेको छ ।

आज कारोबारको आधारमा सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ४७ करोड ४० लाख ९० हजार २०१ रुपैयाँ बराबरको कारोबार भएको छ ।