
पोखरा, १६ जेठ । सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि शनिबार सार्वजनिक गरेको बजेटबारे पोखराको निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएको छ । बजेटले धेरै विषय समेटेको भए पनि कार्यान्वयनमा निजी क्षेत्र चुनौती देख्छ । प्रस्तुत छ, केही प्रतिनिधिमूलक धारणा: –
बजेट प्रस्तुत गर्नुमात्र हैन, कार्यान्वयन ठूलो हो
आनन्दराज मुल्मी
पूर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
कुनै पनि कुरा नछुटोस् भनी सबैलाई प्रिय बनाउने किसिमले सरकारले बजेट ल्याएको छ । ठूलो आकारको बजेट ल्याएर सरकारले आफ्नो एक्सेस देखाउन खोजेको पाइन्छ । यथार्थ धरातलमा उभिएर ल्याएको हो कि होइन भन्ने कुरा महत्वपूर्ण हुन्छ । बजेट कार्यान्वयन गर्ने अवस्था छ वा छैन भन्नेमा ख्याल गर्नुपर्छ । खर्च गर्न सक्ने क्षमता अत्यन्त कमजोर छ भनी विगतमा सरकारले भन्दैआएकोमा त्यसमा व्यवस्थापकीय पक्ष सुधार भयो कि भएन भन्ने लेखाजोखा गरिनुपर्छ ।
सरकारले निःशुल्क रुपमा ७० प्रकारको औषधी दिन्छु भनी २ वर्ष पूरा भएको छ, तर अहिले ३ देखि ४ वटाभन्दा बढी स्वास्थ्य चौकीमा औषधी पाइँदैन । त्यसैले संरचनामा सुधार नभएसम्म सरकारले जति दिन्छु भने पनि दिन सक्दैन । संस्थागत संरचनामा सुधार, पारदर्शिता, गलत काम गर्नेलाई दण्ड व्यवस्था हुन सकेन भने सरकारले जति नै पैसा खर्च गरे पनि बालुवामा पानी हालेसरह हुन्छ।
बजेट छुट्टाइएको छ तर त्यसको समूचित सदुपयोग हुनुपर्छ भन्ने विषय हामीहरुले बिर्सनु हुँदैन । संघीय संरचनामा संघीय सरकारको आफ्नै दायित्व हुन्छ । राष्ट्रिय महत्वको आयोजना निर्माण गर्नु संघीय सरकारकै दायित्व हो । सबै तहको जवाफदेहिता र जिम्मेवारी हुनुपर्छ । बजेट प्रस्तुत गर्नु ठूलो कुरा होइन, बजेटको मर्म अनुसार काम भयो कि भएन भन्ने कुरा चिन्ताको विषय हो।
बजेटले निजी क्षेत्र समेटेको छ
नारायण कोइराला
अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ
बजेट समग्रमा राम्रो छ । निजी क्षेत्र समेटेको छ । निजी क्षेत्रको अपेक्षा अनुसार बजेट प्रशंसनीय रहेको भए पनि कार्यान्वयन हुनेमा चुनौती देखिन्छ । कोरोनाको महामारीको बेलामा सरकारले जसरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ, त्यस्तै कृषि क्षेत्रमा पनि आत्मनिर्भर हुने खालको बजेट आएको छ । निजी क्षेत्र जसरी अहिले विषम परिस्थितिमा धकेलिएको छ, बजेटले केही भए पनि सम्बोधन गर्ने प्रयास गरेको छ ।
जस्तो पुनर्कर्जा, विद्युत् महसुल छुट लगायत विषय समेटिएका छन् । तैपनि बजेट राम्रो हुँदाहुँदै कार्यान्वयन पक्ष कसरी जान्छ ? भन्ने हेर्न बाँकी छ । विगतमा पनि राम्रा बजेट आएकै थिए । अहिले अध्यादेशमार्फत ल्याइएको बजेट हो । त्यसैले सरकारकै स्थायित्व छ कि छैन भन्ने प्रश्न छ । हिजोको दिनमा सरकारले विकास बजेट ४०/४५ प्रतिशत पनि खर्च गर्न नसकेको स्थिति हो । आगामी दिनमा बजेटलाई सही सदुपयोग गर्दै कार्यान्वयन दिशामा जान सकियो भने यसका राम्रा पक्ष छन् । विविध विषय समेटेको हुँदा निजी क्षेत्रले सकारात्मक ढंगले हेरेको छ ।
आँबुखैरेनीदेखि पोखरा सडक खण्डहोस् वा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि बजेट छुट्टाइएको छ, राम्रो मान्न सकिन्छ । तर उत्पादनमूलक क्षेत्रलाई पनि समेट्नुपर्ने थियो । साना मध्यम व्यवसायका क्षेत्रलाई समेट्नेक्रममा ठूलाखालका उद्योगलाई समेट्न नसकेको हो कि भन्ने लागेको छ । जसले ठूलो स्केलमा रोजगार सिर्जना गरेको हुन्छ, त्यसखालका ठूला उद्योगलाई बजेटले सम्बोधन गर्नुपर्ने थियो ।
पर्यटन क्षेत्रमैत्री बजेट
गोपीबहादुर भट्टराई
अध्यक्ष, पोखरा पर्यटन परिषद्
विषम परिस्थितिबीच जसरी सरकारले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्याे, त्यो आफैमा स्वागतयोग्य छ । पर्यटन क्षेत्रकाे व्यवसाय बचाउनका लागि पुनरुत्थानका कार्यक्रम आएका छन् । पुनर्कर्जाको व्यवस्थालाई निरन्तरता दिइएको छ । व्यवसायमात्र बाचेर नभई मजदुर क्षेत्रलाई पनि बचाउन सीपमूलक कार्यक्रमबाट बजेटले सम्बोधन गरेको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पेड होलिडेको कुरा हामीहरुले बारम्बार उठाउँदै आएकोमा यसपालिको बजेटले १० दिनसम्म कर्मचारी बिदा दिने व्यवस्था गर्नु सह्राहनीय हो । यसले आन्तरिक पर्यटन मुभ बनाउनुका साथै कर्मचारी पनि फ्रेस हुन्छन् । पर्यटकका लागि १ महिना भिसा फ्री व्यवस्था गरियो । धार्मिक पर्यटन, साहसिक खेलकुद पर्यटन, हाई अल्टिच्युट स्पोर्टस्लाई पनि ध्यान दिइएको छ, खेल र पर्यटन सँगसँगै जोडिएका विषय हुन् ।
यी विषय विगतमा आएको थिएन, अहिले बजेटले समेटेको छ । तर बजेट कार्यान्वयनमा जान्छ कि जाँदैन भन्ने चुनौतीको विषय छ । विगतमा बजेट कार्यान्वयन नहुँदा हाम्रो विमति रहँदैआएको थियो । पोखराको फेवातालमा साइकल ट्रयाकदेखि बेगनास समेतलाई समेटेको छ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि साढे ८ अर्ब बजेट विनियोजन गरिएको छ । पर्यटन पूर्वाधारको कुरा छ ।
यो आफैमा नेपालको समग्र आर्थिक उन्नतिका लागि जोडिएका विषय हुन् । यसले सबैको हित गर्छ । विगतको झन्झटिलो हटाउँदै साना, मझौला तथा ठूला सबै व्यवसायले राहतको प्याकेज पाउनुपर्छ । हामीहरुले माग गर्दै आएको भ्याक्सिन पनि हो । राज्यले पनि ठूलो रकम छुट्टाएको छ । समग्रमा पर्यटन क्षेत्रले अहिलेको बजेटलाई स्वागत गरेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



