बजेटको विषयमा के भन्छन् अर्थविद् ?

- बजेट बहस

-



     सफल आवाज    
     जेठ १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ जेठ । अध्यादेशबाट आगामी आर्थिक २०७८/७९ को बजेट सार्वजनिक भएपछि यसको विषयमा मिश्रित प्रतिक्रिया आएका छन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेपछि आकार बढेको भन्दै मिश्रित प्रतिक्रिया आएका हुन् ।

महामारीको समयमा आएको यो बजेटलाई निजी क्षेत्रले सकारात्मक भएको प्रतिक्रिया दिएकाे छ। विपक्षी दलका नेताले चुनाव घोषणा भइसकेको अवस्थामा आएको बजेटले मतदातालाई मात्र खुशी पार्ने काम गरेको आरोप लगाएका छन्। अध्यादेशबाट आएको बजेट अवैधानिक भएको आरोपसमेत उनीहरुको छ।

अर्थक्षेत्रका केही विज्ञले बजेटको आकार बढाएर सरकारले नागरिकमाथि ऋण थप्ने काम मात्र गरेको भन्दै बजेटको आलोचना गरेका छन् भने केही जानकारले बजेटको विषयमा सकारात्मक प्रतिक्रिया दिएका छन्।

बजेटको विषयमा अर्थविद्ले भने मिश्रित प्रतिक्रिया दिएका छन्। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्मा बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउँछन् भने चीनबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका डा. कल्याण रोका बजेट सकारात्मक भएको प्रतिक्रिया दिन्छन्। ऋणसँग डराउनु नपर्ने उनको तर्क छ। यता त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागकी पूर्वप्रमुख प्रा. डा. कुसुम शाक्य भने बिना तयारी र योजनामा सार्वजनिक भएको बजेट असफल हुने टिप्पणी गर्छिन्। बजेटको प्राथमिकता निर्धारणमाथि नै उनले प्रश्न गरेकी छन्।

डा. शंकर शर्मा

ऋणले पुँजीगत व्ययको डरलाग्दो अवस्थामा जान्छौँ : डा. शंकर शर्मा


विश्वासको मत नपाएको सरकारले पूर्ण बजेट ल्याउने, करको दरलाई घटबढ गर्ने, हेरफेर गर्ने, नयाँ कार्यक्रम ल्याउने, दीर्घकालीन योजनाका कार्यक्रम ल्याउन मिल्दैन भनेर धेरैले भनेको सुनियो। तर यो कुरा इतिहास भइसकेको छ। बजेट आइसकेको छ।

सर्वप्रथम यो बजेटको प्रस्तुति मै पहिला भन्दा फरक देखेको छु। पहिला-पहिला चालु खर्चको डिस एग्रिगेटेट खर्च पनि हुन्थ्यो। पारिश्रमिकमा कति खर्च हुन्छ ? सुविधामा कति खर्च हुन्छ ? सामाजिक सुरक्षा, अनुदान, सहायता खर्च कति हुन्छ भन्ने हुन्थ्यो। यसपालि अनुसूची १ हेर्नुभयो भने त्यो देख्नुहुन्न।

अनुदान, सामाजिक सुरक्षा, सुविधा धेरै वृद्धि भएको हुँदा मानिसको आँखा सिधै त्यहाँ नपरुन् भनेर त्यो झिकिएको हुनसक्छ। बजेटबाट दीर्घकालीन प्रभाव पार्ने विषय झिकिएको छ।
यसपाली सरकारले अनुमान गरेको भन्दा करिब-करिब ३० प्रतिशतले बजेट बढाएको छ। हुनत सरकारले अहिले १२ खर्ब ६६ अर्ब खर्च होला भन्ने अनुमान गरेको छ। सायद त्योभन्दा पनि कमै मात्र खर्च होला। यो हेर्दाखेरी यसपालिको बजेट पोहोरको तुलनामा निकै ठूलो ३०-४० प्रतिशतले बढ्न सक्ने सम्भावना छ।

वैदेशिक ऋण ८७ प्रतिशतले बढ्ने अनुमान छ। गत साल ४२ प्रतिशत मात्रै थियो। यो त्यत्ति यथार्थपरक पनि भएन। त्यस्तै अनुदान पनि आउँदो आर्थिक वर्षमा १३४ प्रतिशतले बढ्छ भन्ने अनुमान गरिएको छ। यसपालीको वृद्धि जम्मा १४ प्रतिशत भएकाले त्यो पनि यथार्थपरक देखिदैन।

यसपाली विदेशी दातृ संस्थाले अनुदान बढाएका छन्। अमेरिका, बेलायतलगायत धेरै देशले अनुदान बढाएका हुन्। तर पनि १३४ प्रतिशतको वृद्धि हुने संभावना देखिँदैन। प्राथमिकताको कुरा गर्दा स्वास्थ्य, शिक्षाका कुरा आए। ती हाम्रा मौलिक अधिकार हुन्। तर कोभिडको कारणले अहिले र अर्को आर्थिक वर्षमा धेरै असर गर्ने र त्यसैतिर धेरै खर्च हुने हुनाले राष्ट्रिय योजना आयोगको १५ औं योजनाले निकालेका उदेश्य र नीतिमा यसले ठूलो धक्का मार्छ। यो असरले न आर्थिक वृद्धिदरको लक्ष्य हाँसिल गर्न सक्छौं न अरु सूचक पूरा गर्न सक्छौं।

अहिले पाँच वर्षमा ऋणको साइज कुल ग्राहस्थ उत्पादनकै तुलनामा पनि २५ प्रतिशत बढ्यो। सायद यसपाली झण्डै झण्डै ५० प्रतिशत हुनसक्ने संभावना देखिन्छ। त्यसमा पनि समस्या त देखिन्छ। दुई वर्षअघि १७ प्रतिशत ऋणको आकार थियो। त्यसबाट पनि हुने खर्च बढेर २२ प्रतिशतमा पुगेको छ। अब नम्बर मात्र हेरौं न खासगरी पुँजीगत खर्च यसपालिको अनुमान ३ अर्ब ७४ अर्ब छ। हामीले आन्तरिक ऋण नछुँदै बाह्य ऋण र अनुदान मात्रै ३ खर्ब ७२ अर्ब देखाउँछ। यसले के संकेत गर्छ भने अब हामीले पुँजीगत खर्च गर्नलाई पनि ऋणैमात्रै त्यो पनि आन्तरिक ऋण होइन। आन्तरिक कार्यक्रम जस्तै सामाजिक सुरक्षा, अनुदान, तलब भत्ता आदिमा जाने हुनाले यो विकास खर्च पुँजीगत खर्चमा पुरै बाह्य ऋण र अनुदान मै भरपर्ने होकी भन्ने संकेत पनि यसले देखाएको छ।

यो ऋणको चलनले भविष्यमा पुँजीगत व्यायको डरलाग्दो अवस्थामा जान्छौं कि भन्ने देखिन्छ। स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणमा कुल बजेटको झण्डै झण्डै २९ प्रतिशत थियो। यसपाली २३ प्रतिशतमा झरेको छ। हुन त अब संघीय सरकारको खर्च नभएपछि वास्तविकतामा यो बढेर जाला किनभने प्रदेशमा गएको त अनुदानको रुपमा जान्छ स्थानीय तहमा जान्छ। तर अहिले सरसर्ती हेर्ने हो भने त्यो रकम घटेको छ।

सशर्त अनुदान सरकारले भनेको कामका लागि मात्रै खर्च गर्नुपर्छ। त्यसकारण ससर्त अनुदानको खर्च रकम केन्द्र सरकारले बढाउँदैछ। यो एउटा ठूलो प्रश्न छ, प्रश्न के भने स्थानीय तहको पूर्वाधार ठिक नभएको, क्षमता नभएको कारणले गर्दा अनुदान बढाएको हो कि भन्ने संकेत पनि देखिएको छ। तर अनुदान बढ्दै जाँदा स्थानीय तह र प्रदेशको स्वतन्त्रतामा धक्का पर्नसक्छ। त्यसैले ससर्त अनुदान बढाउने कुरालाई रोक्नुपर्छ भन्ने हो। तर धेरै कार्यक्रम स्थानीय तहले गर्ने गराउने भन्ने कुरा लेखिएको छ। जुनचाहिँ संविधानको मर्मसँग मिल्दैन। कित सरकारले मैले यो यति रकम दिन्छु, यो रकम चाहिँ स्थानीय तहले, प्रदेश सरकारले खर्च गर्छ भन्ने कुरा हो। होइन भने कत्ति कुरा त्यहाँ स्थानीय सरकारले गराउने भन्ने कुराचाहिँ संविधानको मर्म विपरित हो। यो वितरणमुखी रकम छरिएको कार्यक्रम हो भन्ने कुरा धेरै आइसकेका छन्।

अहिले सामाजिक सुरक्षा भत्ता लगायत विभिन्न किसिमको लक्षित कार्यक्रममा केन्द्रित हुँदा दक्षिण एसियामा कुल ग्राहस्थ उत्पादनको तुलनामा हामी सबैभन्दा बढी छौं। त्यही भएर यसलाई पुनरावलोकन गर्नुपर्ने आवश्यक छ। मितव्यवयीताको कुरामा निकै कमजोर भएको मलाई अनुभव भएको छ। अनौपचारिक क्षेत्रमा काम गर्ने ३०-३२ लाख ज्यालादारी मजदुरलाई के राहत दिने त ? भन्ने योजना अझै पनि छैन। आफ्ना मान्छेलाई मात्रै खर्च दिने प्रवृत्ति परिवर्तन गर्नु आवश्यक छ।
कार्यान्वयनको पक्षमा मैले केही भन्नुपर्ने छैन। गएका वर्षहरुको पुँजीगत व्याय हेर्ने हो भने ५० प्रतिशतभन्दा पनि नाघ्ने सम्भावना देखिँदैन। अन्य क्षेत्र जुन उपदान बाड्ने कुरा छ। त्यसको लागि बजेट नै पुग्दैन, पुगिहाले पनि आफ्ना मान्छेलाई मात्र दिने प्रवृत्ति हामीले देखेका छौं। त्यसलाई सुधार गर्न अति आवश्यक छ।

योजना बिना आएको बजेट असफल हुन्छ : प्रा. डा. कुसुम शाक्य

प्रा. डा. कुसुम शाक्य

अर्थशास्त्र बजेटको एउटा पाटो हो। नयाँ संविधानले जेठ १५ गते बजेट ल्याउने व्यवस्था गरेको छ। प्रतिनिधिसभा नहुँदा आएको बजेट अपुरो जस्तो लागेको छ। बजेट भनेको नीति कार्यक्रम प्रष्ट भएपछि तयार गर्नुपर्छ। नीति र कार्यक्रम राष्ट्रपतिले संसदमा घोषणा गर्नुपरथ्र्यो । त्यसको आधारमा बजेट आउनुुपर्छ। तर यसपटक त्यो नभएको हामी सबैले देखेका छौँ।

हामीले कहिल्यै नदेखेको अध्यादेशमार्फत् ल्याइएको बजेट हुँदा अपुरो अप्ठेरो र असजिलो अनुभव हामीले गरेका छौँ। कुन नीति अन्तर्गत कुन कार्यक्रममा सार्वजनिक भयो भन्ने कुरा हामीलाई विलकुल थाहा भएन। त्यो थाहा नभए पनि देशका लागि आएको बजेटममाथि बोल्ने अधिकार हाम्रो पनि छ। साइजको हिसाबमा बजेट बढेको छ। अघिल्लो वर्ष नै हामी कोभिडको महामारीमा थियौ। त्यही समयमा धेरै ठूलो साइजको बजेट ल्याउनु हुँदैन भनेका थियौँ। तर, यसपटक झण्डै साढे १६ खर्ब पुगेको छ।

बजेट आएपछि हुने छलफल भन्दा पनि यसको कार्यान्वयन महत्वपूर्ण विषय हो। तर, बजेटको कार्यान्वयनमा धेरैले चासो दिएको देखिँदैन। हरेक वर्ष उत्पादनमुलक क्षेत्रमा बजेट खर्च भएको हुँदैन। असार मसान्तसम्ममा जम्माजम्मी ५० प्रतिशत मात्र बजेट खर्च भएको देखिन्छ। यसले बजेटको प्रभावकारीमा प्रश्न उठ्छ। बजेट आउनु अगाडि अघिल्लो वर्षको बजेट कार्यान्वयनको अवस्था हामीले कहिल्यै देख्न पाउँदैनौँ। यसले बजेट घोषणाका लागि मात्र हो कि भन्ने प्रश्न उठ्न थालेको छ।

आगामी आर्थिक वर्षको बजेटले अघिल्लो वर्ष जस्तै कोभिड-१९ लागि लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ। स्वास्थ्यको विषयले प्राथमिकता पाउनु खुशीको कुरा हो। कात्तिक र मंसिरमा चुनाव घोषणा भइसकेकाले त्यसका लागि बजेट छुट्याइनु स्वभाविक मान्न सकिन्छ। तर, हामीले बजेट लक्ष्य अनुसार खर्च गर्न पाइराखेका छैनौँ। सबै रकम साधारण खर्चमा सकिने गरेको छ। त्यसले गर्दा नेपालीको जीवन धेरै खतरामा छ। अघिल्लो वर्ष हामीले २७ हजार ऋण बोकेका थियौँ अहिले आउर हाम्रो ऋण भार ५२ हजार पुगेको छ। अनि यो अवस्थामा पनि हामी ऋणमै बजेट बनाउँदै छौँ भने निकट भविष्यमा हामीले कति ऋण बोक्नु पर्ला ? यो कुरामा हामी धेरै सचेत हुनुपर्छ। अर्थशास्त्रको विद्यार्थीलाई मात्र होइन यो कुरा सबैलाई थाहा हुनुपर्छ।

भविष्यमा ऋणको मात्रा बढ्दै गएमा हाम्रो जीवन कहाँ पुग्छ ? भन्ने ठूलो प्रश्न हामीमाथि आइलागेको छ। यो अवस्थाको समाधानका लागि देशमै केही गर्ने गरी बजेटमा आकर्षक कार्यक्रम ल्याउनैपर्छ। बाहिर जाने युवालाई रोक्ने प्रयास गर्नुपर्छ। तर, त्यसका लागि बजेट गम्भीर भएको देखिँदैन। विद्यार्थीको प्रमाणपत्र राखेर ऋण लिने प्रावधान यसपटकको बजेटमा पनि दोहोरिएको छ। यो विषय बजेटमा समावेश गर्दा अघिल्लो वर्षको परिणाम खोजेका छैनौँ। प्रमाणपत्र राखेर अघिल्लो वर्ष कसले ऋण लिए र के काम गरे ? त्यो कति प्रभावकारी भयो भन्ने कुराको खोजीनीति नै भएको छैन। लोकप्रियताको नाममा बिना तयारी यस्ता विषयको घोषणा गरेर मात्र हुँदैन। यस्ता कार्यक्रम प्रभावकारी नभए देशको खर्च अनावश्यक हुन्छ। यस्तो योजनाले बजेटको प्रभावकारिता बढ्दैन।

संघीयता र गणतन्त्रमा सबैलाई समान अधिकार छ भनेर भन्छौँ तर, त्यो कुरा पटक्कै बजेटमा देखिएको छैन। संघीयताका तीन तहमध्ये सबैभन्दा धेरै बजेट स्थानीय तहमा जानुपर्छ। स्थानीय तहमा विकास भए मात्र देश विकास सम्भव छ। स्थानीय तहमा भएको अभावका कारण आज हामी सबै कोरोनाको मारमा परेका छन्। सरकारले दिने पावर स्थानीय तहलाई दिनुपर्छ र स्थानीय तह पनि सक्रिय हुनुपर्छ। बजेट स्थानीय तहमा आउनुपर्छ। अहिलेको बजेट बिना योजना आएको छ। योजना बिना आएको बजेट असफल हुन्छ।

म एउटी महिला पनि भएकाले बजेटमा जेन्डर पक्षलाई कति प्राथमिकता दिएको छ भन्ने कुरा पनि नोट गरेकी छु। नेपालमा जेन्डर बजेट एकदम कम हुन्छ। बजेट वितरण गर्दा महिला, बालबालिका र जेष्ठ नागरिकलाई एकै ठाउँमा झुन्ड्याएको छ। जसमा एक अर्ब २० करोड बजेट विनियोजन भएको छ। बिना मापदण्ड बजेट विनियोजन भएको छ। महिला, बालबालिका र जेष्ठ नागरिकलाई फरकफरक ढंगले बजेट विनियोजन नगरी मिक्स गरेको देख्दा म चकित छु।

प्रति व्यक्ति आम्दानी बढाउन ल्याएको ऋणसँग डराउनु पर्दैन : डा. कल्याण रोका

डा. कल्याण रोका

बजेट नियमित प्रक्रियाबाट आएको हो। विनियोजन गर्ने सन्दर्भमा जनताले अनुभूत गरेका आवश्यकतालाई बजेटले कति सम्बोधन गरेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। यो प्रतिकुल परिस्थितीमा जुन खालको बजेट आयो यसले जनताको आवश्यकता प्राथमिकतालाई सम्बोधन गर्न सकेको कारणले नै विगत वर्षभन्दा यो लोकप्रिय छ। राजनीतिक दलबाट पनि बजेटको प्रशंसा भएको छ। विरोध गर्नका लागि विरोध गर्ने त एउटा कुरा होला। तर मान्छेले एउटा कन्फ्यूजन सिर्जना गरेको देख्छु। सबैले व्यक्तिको थाप्लोमा ५२ हजार ऋण भार भनेका छन्। अनि व्यक्तिलाई ऋण बोकाएर ल्याएको बजेट कार्यान्वयन हुन सक्दैन पनि भनेका छन्।

व्यक्तिलाई ऋण बोकाउन पाइदैन भन्ने कोणबाट पनि बजेटको आलोचना भएको छ। यसमा मेरो बुझाइ गलत छैन भने ऋणको दुईवटा स्रोत छ, आन्तरिक र बाह्य। आन्तरिक ऋणले अहिले जस्तो बजेटले अनुमान गर्ने हो। त्यो अनुमान गर्दा २ खर्ब ५० अर्बको आन्तरिक ऋण उठाउने देखिन्छ। यसले गर्दा नै व्यक्तिहरुले आफ्नो थाप्लोमा ऋण थपियो भनेको देखिन्छ। म संसारका धेरै देशहरुले बजेट बनाउँदा घाटा बजेट कै सिद्धान्त अपनाएको देख्छु। घाटा बजेट भए पनि अन्तिममा त्यसले ऋण त उत्पादकत्वमाका लागि हुन्छ नि। ऋण खोजेर घिउ खाइयो भने त्यसको असर व्यक्तिगत इनर्जीमा हुन्छ। तर राष्ट्रको जीवनमा त्यस्तो हुँदैन। यो बजेट निर्माणको प्रक्रियामा बजेट विनियोजन जुन ढंगले भएको छ त्यसमा आन्तरिक ऋणको प्रक्रियाले पनि सहयोग गरेको छ। त्यसैले आन्तरिक र बाह्य ऋणसँग बजेट निर्माणको प्रक्रियालाई जोडेर आलोचना गर्नु मुर्खता सिवाय केही हुँदैन।

यो विषयलाई अझ प्रष्ट पार्न एउटा उदाहरण दिन सकिन्छ। मान्छेले ऋण खोजेर घर बनायो भने अनुत्पादक कुरा होला। तर, केही उत्पादनमुखी काम गरर्यो भने त ऋणले त उसको आयआर्जन, आम्दानी वृद्धिमा सहयोग पुगेको देखिन्छ। त्यसैले राष्ट्रले पनि उत्पादनमुखी काम गर्दाखेरी लिएको ऋणले फरक पार्छ जस्तो मलाई लाग्दैन। दोस्रो कुरा अब यहाँ धेरै ठूलो हल्ला फिजाइएको छ, व्यक्तिगत थाप्लोमा ५२ हजार ऋण थपियो भनेर। तर छिमेकी देश भारत, भुटान, चीनसँगै अमेरिकामा पनि आन्तरिक ऋणले नै बजेट बनाएको देखिन्छ। त्यसैले यो विषयमा आत्तिनुपर्छ भन्ने मलाई लाग्दैन।

नेपालमा प्रतिव्यक्ति ऋण थाप्लोमा जति थपिए पनि त्यो तिर्नुपर्ने होइन। त्यसैले अर्थविद् र प्रतिपक्षमा रहेका राजनीतिक दलका नेताले जुन ढंगबाट यो बजेट कार्यान्वयन हुन सक्दैन, ऋणको भार छ भनेर विश्लेषण गरेको पाइन्छ त्यो विश्लेषण गलत हो। यो ट्रेन्डलाई बदल्नुपर्छ। यसलाई अझै मुलुकको आवश्यकतालाई सम्बोधन गर्न प्रयोग गर्न सकिन्छ। विकासका लागि ठूलो आकारको बजेट पनि आवश्यक पर्छ। राजश्वको स्रोत नभएपछि आन्तरिक र बाह्य ऋण र अनुदान कै स्रोतमा भर पर्नुपर्ने हुन्छ। तर स्रोत कुल ग्राहस्थ उत्पादनलाई प्रतिव्यत्ति आम्दानीलाई बढाउने हिसाबले लगाइयो भने त त्यो ऋणले केही हुन्छ जस्तो लाग्दैन मलाई। (कुराकानीमा आधारित )