चीनबाट प्राप्त ८ लाख डाेज खोप काठमाडौं आइपुग्यो

- कस कसले पाउलान याे खाेप ?

-



     सफल आवाज    
     जेठ १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ जेठ ।  चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप काठमाडौं आइपुगेकाे छ । उक्त खाेप नेपाल वायुसेवा निगमको ए ३३० जहाजबाट मंगलबार दिउँसाे काठमाडौं आइपुगेको हाे ।

चीनले अनुदानमा प्रदान गर्ने घोषणा गरेको  १० लाखमध्ये ८ लाख  भेरोसेल खोप लिएर जहाज काठमाडौं अवतरण गरेकाे निगमले जनाएको छ। उक्त भेरोसेल खोप एकपटक पनि खोप नलगाएका नागरिकलाई दिइने योजना स्वास्थ्य मन्त्रालयले बनाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले  चिनियाँ राष्ट्रपति सि जिङपिङसँगको टेलिफोन वार्तामा गरेको आग्रहअनुसार याे खोप नेपाल आएको हो। यसअघि पनि चीनले ८ लाख भेरोसेल खोप दिइसकेकाे छ। 

पहिलो डोज लगाएको १२ साताभित्र दोस्रो डोज लगाइसक्नुपर्ने भए पनि फागुन २३ पछि कोभिसिल्ड खोप लगाएका ६५ वर्षमाथिका वृद्धवृद्धाले दोस्रो मात्राकाे खाेप लगाउन पाएका छैनन्।

मंगलबार स्वास्थ्य मन्त्रालयमा भएकाे बैठकले चीनबाट अनुदानमा आएकाे याे खोप ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई लगाउने निर्णय गरेको बताइएकाे छ।

अहिले अन्य उमेर समूहमा जानका लागी खोपको उपलब्धता कम भएको भन्दै ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाउने निर्णय भएको मन्त्रालयका खाेप बिभागका प्रमुख डा झलक गौतमले बताए । उनले जेठ २५ गतेबाट खोप अभियान सुरू गर्ने निर्णय गरेको जानकारी दिए।