आफूमाथि नैतिकताको प्रश्न उठाएपछि रेकर्डबाटै भनाइ हटाउन सभामुखको आदेश

-



     सफल आवाज    
     जेठ १९ गते २०७८ मा प्रकाशित



पोखरा, १९ जेठ । गण्डकी प्रदेश सभाका सदस्य मनबहादुर गुरुङले आफूमाथि नैतिकताको प्रश्न उठाएको भन्दै सभामुख नेत्रनाथ अधिकारीले उनको भनाइ रेडर्कबाटै हटाउन आदेश दिएका छन् ।

गण्डकी प्रदेशसभाको बुधबारको बैठकमा सांसद गुरुङले गत १५ वैशाखमा मुख्यमन्त्री विरुद्ध मतविभाजन हुने दिन आकस्मिक रुपमा कसले बैठक स्थगित गरेको थियो ? भनी प्रश्न गरेका थिए ।

उनको सो भनाइपछि सभामुख अधिकारी तुरुन्त उनको भनाइ हटाउन कर्मचारीलाई आदेश दिएका हुन् ।

नेपाली काँग्रेससहितका दलहरुले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याएकोमा १५ वैशाखमा मत विभाजन हुने तय थियो । सो दिन जनमोर्चाले आफ्ना सांसद खिमविक्रम शाही एक्कासी बेपत्ता भएको भन्दै खोजीनीति नहुञ्जेल प्रदेशसभाको बैठक अगाडि बढाउन नहुने भनेपछि सभामुखले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए । सो दिन प्रस्ताव विफल हुने सम्भावनापछि सभामुखले बैठक स्थगित गरेको सांसद गुरुङको आरोप थियो ।

पोखरा सभागृहमा जारी प्रदेश सभाको बजेट (बर्खे) अधिवेशनमा यतिखेर बजेटको सिद्धान्त तथा प्राथमिकतामाथि छलफल जारी छ । बैठकमा बोल्ने विपक्षी दलका सदस्यले मुख्यमन्त्रीले विश्वासको मत नलिई बजेट ल्याउने तयारी गरेको भन्दै टिप्पणी गरेका थिए । उनीहरुले तत्काल मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने माग राख्दै आएका छन् ।

प्रदेशसभाको बैठक बिहीबार पुनः बस्नेछ । बैठक १६ जेठदेखि सुरु भएकाे हाे।

पुनः दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले नियुक्तिको ३० दिनभित्रै विश्वासको मत लिनुपर्छ । त्यसका लागि प्रदेशमा प्रतिनिधित्व गर्ने कुल ६० सदस्यमध्ये बहुमत अर्थात ३१ सदस्य आवश्यक पर्दछ ।