वीरगञ्जमा असार १ देखि विद्यालय खुल्ने

-


     सफल आवाज    
     जेठ २२ गते २०७८ मा प्रकाशित


वीरगञ्ज, २२ जेठ। वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिक रुपमा विद्यालय खोल्न दिने भएको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना निकालेर असार १ गतेदेखि क्रमिक रुपमा विद्यालय खोल्न दिने जनाएको हो।

विद्यालय बन्द हुँदा बालिबालिकाको शैक्षिक क्षति भएको भन्दै महानगरपालिकाले कक्षा ८ देखि १२ सम्म विद्यालय खोल्न दिने निर्णय गरेको हो।

महाशाखाका प्रमुख अरविन्द लाल कर्णका अनुसार १ देखि ७ गतेसम्म विद्यार्थी भर्ना लगायत व्यवस्थापकिय काम गराउने, ८ देखि १५ गतेसम्म भर्ना सप्ताह अन्तर्गत घरदैलो कार्यक्रम संचालन गर्ने र असार १५ पछि नियमित रुपमा पठनपाठन सुरु गर्न निर्देशन दिइएको छ।

तर भौतिक उपस्थितीका लागि अभिभावकबाट लिखित सहमति लिने र स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने तर गाडी भने चलाउन नपाइने सूचनामा उल्लेख छ।