मन्त्रिपरिषद बिस्तार विरुद्ध सर्वोच्चमा रिट

-



     सफल आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ जेठ। मन्त्रिपरिषद बिस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले काम चलाउ सरकारले मन्त्रिपरिषद बिस्तार गरेको भन्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

उनले मन्त्रिपरिषद्मा गरिएको नयाँ नियुक्ति, हेरफेर तथा कार्य बिभाजन गैरसंवैधानिक, कपटपूर्ण एवं संबिधान विपरीत भएको भन्दै सर्वोच्चमा रिट दर्ता गरेको बताए।

त्रिपाठीको रिट निवेदन जस्ताको त्यस्तै :

मंत्रिपरिषद बिस्तार बिरुद्द सर्वोच्च अदालतमा रिट पेश

मंत्रिपरिषदमा गरिएको नया नियुक्ति, हेरफेर तथा कार्य बिभाजन प्रथम दृष्टिमा नै गैरसंवैधानिक, कपटपूर्ण एवं संबिधान विपरीत भएको एवं संबिधानको धारा २, ७४, ७७(ग) एव संबिधानको धारा ७७(३) को प्रतिकूल रहेकोले संबिधानको धारा ४६, १३३(२)(३) बमोजिम मिति २०७८/२/२१ गतेको प्रधानमन्त्रीको सिफ़ारिश एवं सो सिफ़ारिश बमोजिम सोही मितिमा राष्ट्रपतिबाट मंत्रिपरिषदमा गरिएको नया नियुक्ति, हेरफेर तथा कार्य बिभाजन तथा सोबाट निसृत सबै काम कारवाहीहरु उत्प्रेषणको आदेशद्वारा बदर गरि परमादेश लगायत अन्य उपयुक्त आदेश समेत जारी पाउ भनी आज मैले सर्वोच्च अदलातमा रिट निबेदन पेश गरेको छु । हाल यो रिट दर्ता प्रक्रियामा रहेको छ ।

रिट निबेदनमा मैले निम्न बमोजिमको माग गरेको छु ।

  • मिति २०७८/२/२१ गतेको आदेश उत्प्रेषणको आदेशले बदर गरि पाउ ।
  • प्रतिषेधको आदेशले मंत्रीपरिषदमा थप नियुक्ति, हेरफेर वा कार्यबिभाजन नगर्नु ।
  • दैनिक कार्य संचालन बाहेक कुनैपनि दीर्घकालिन असर पर्ने नीतिगत निर्णय नलिनु । राष्टलाई कुनै पनि गंभीर आर्थिक असर पर्ने कुनै कार्य नगर्नु ।
  • यस दौरान अन्य कुनै पनि नियुक्तिहरु नगर्नु नगराउनु । साथै प्रधानमन्त्रीको उक्त कार्यले संवैधानिक प्रणालीमा गम्भीर क्षति पुग्न जाने हुंदा मूद्दाकों अंतिम किनारा नलागे सम्म नव नियुक्त उपप्रधानमंत्री तथा मंत्रीहरुलाई सो हैसियतले (उपप्रधानमंत्री वा मन्त्रीको हैसियतले) कुनै पनि कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश समेतको माग गरिएको छ ।