गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने

-



     सफल आवाज    
     जेठ २५ गते २०७८ मा प्रकाशित



पोखरा, २५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । आफूले विश्वासको मत लिनेबारेको प्रस्ताव मंगलबार संसद सचिवालयमा दर्ता भएको छ । मुख्यमन्त्रीमा नियुक्तिको एक महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

दलहरुले सरकार बनाउन नसकेपछि संविधानको धारा १६८ (३) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलले गत वैशाख २९ मा पृथ्वीसुव्वा गुरुङलाई दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । गुरुङको पार्टी नेकपा एमाले संसदमा सबैभन्दा ठूलो दल हो । ठूलो दलको हैशियतले संसदीय दलका नेता गुरुङ मुख्यमन्त्री नियुक्त भएपनि उनले विश्वासको मत पाउने सम्भावना छैन।

संसदमा प्रतिनिधित्व गर्ने सभामुखसहित ६० सदस्यमध्ये उनले विश्वासले विश्वासको मत पाउन ३१ सदस्य आवश्यक पर्छ । उनको दल नेकपा एमालेका मात्र २७ सदस्य छन् । उनलाई तत्काल स्वतन्त्र १ सहित कुल २८ जनाको समर्थन छ । सत्ता टिकाइराख्न उनले थप ३ सदस्य विपक्षी दलबाट खिच्नुपर्छ । तर त्यो सम्भावना छैन ।

गण्डकीमा नेकपा एमालेका २७, नेपाली कांग्रेस १५, माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चा नेपालका ३, जनता समाजवादी पार्टीका २, स्वतन्त्र १ सदस्य छन्।