असार १ देखि निषेधाज्ञा खुकुलो बनाउने तयारी

-



     सफल आवाज    
     जेठ २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ जेठ। सरकारले देशभर लागु भएको निषेधाज्ञा खुकुलो बनाउने लैजाने तयारी गरेको छ। त्यसको लागि गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरिरहेको छ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ।

सुरुका दिनको तुलनामा अहिले दैनिक संक्रमण र मृत्यु दर घट्न थालेकाले निषेधाज्ञा केही खुकुलो बनाउने सरकारले तयारी गरेको हो।

कोरोनाको पहिलो लहरमा गरिएको लकडाउन एक्कासी खोल्दा सङ्क्रमणले गति लिएको उदाहरण प्रस्तुत गर्दै गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले यसपाली भने त्यो गल्ती नदोहोरिने स्पष्ट पारे। उनले आवश्यकताका आधारमा निषेधाज्ञा विस्तारै खुकुलो पार्दै लगिने बताए।

निषेधाज्ञा खुकुलो पार्दै लगेपनि सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्वब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकुदका गतिविधि भने नखोल्ने स्पष्ट पारे।

काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ।