एमाले एकतामा योगेशले देखेका दुई समस्या

-



     सफल आवाज    
     जेठ २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ जेठ। एमाले नेता योगेश भट्टराईले पार्टी एकतामा दुई समस्याको जड देखाएका छन्।

पार्टी एकताका लागि मंगलबार मात्र दुइ पक्षका नेतासँग लामो समय छलफलमा बसेका भट्टराईले एकताको मूल जड भनेर दुई समस्या औंल्याएका हुन्।

भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग सहकार्य नगरी अन्य दलका नेतासँग सहकार्य गर्नु प्रमुख जड मानेका छन्।

ओलीले नेपाल र खनाललाई बाइपास गरेर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदार गर्नु एकताका लागि बाधक भएको उनको ठम्याई छ।

भट्टराईले भने, ‘कमरेड केपी ओली आफ्नै पार्टीका नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने।’

यस्तै वरिष्ठ नेता नेपाल र खनालले पार्टीको समस्या समाधानको लागि अध्यक्ष ओलीसँग सहकार्य नगरी विपक्षी दलका नेतासँग गठबन्धन बनाउनुलाई अर्को समस्या ठानेका छन्।

ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादवसँग सत्ता साझेदारी र गठबन्धन बनाउन तयार हुनु दोस्रो जड भएको उनको निश्कर्ष छ।

बुधबार बिहान फेसबुकमा भट्टराईले थप लेखेका छन्, ‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने।’

कसले किन र केका लागि यस्तो गर्दैछ भन्ने विषयमा छलफल गरेर साझा निश्कर्षमा पुग्न सकिने र पार्टीलाई बचाउन सकिने उनको बुझाई छ।

‘कस्ले, किन र के कालागि गर्दैछ यो सबै एमाले एकताको समस्याको मुल जड यहिं छ, पार्टी एकतामा जोड दिँदै उनले भने, ‘यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्षका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ।’