श्रीलंकामा सन् २०२२ सम्ममा सबैलाई कोभिडको खोप लगाइने

-


     सफल आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित


कोलम्बो, २७ जेठ । श्रीलंकाले सन् २०२२ सम्ममा आफ्ना नागरिकलाई खोप लगाइसक्ने बताएको छ । श्रीलंका सरकारले सोही बमोजिम काम गरिरहेको अधिकारीहरुले जानकारी दिएका छन् । श्रीलंकाका सञ्चारमाध्यमहरुले सेनाका एकजना कमाण्डरलाई उद्धृत गर्दे जानकारी दिएका हुन् ।

सैनिक कमाण्डर सवेन्दै सिल्भाले एक कार्यक्रममा बोल्दै सरकारले कामको तयारी गरिरहेको जानकारी दिए । उनले श्रीलंकामा खोप लगाउने राष्ट्रिय कार्यक्रमको घोषणा गरिएको र देशव्यापी रुपमा नै खोप लगाउन थालिएको पनि बताए । उनले यो सरकारको कार्यक्रम रहेको र यसलाई सघाउनु सबै नागरिकको कर्तव्य पनि भएको जानकारी दिए ।

वास्तवमा कोभिडको महामारी भनेको सरकारको मात्र या कुनै स्वास्थ्य सम्बन्धी मुद्दा नभएर देशकै समस्या भएकोले सबैले एक भएर यसका विरुद्ध काम गर्नुपर्ने पनि उनले बताए । श्रीलंका सरकारले आफ्ना नागरिकलाई आवश्यक पर्ने खोपको खोजी गरिरहको र आवश्यकताका आधारमा प्राप्त गर्ने आश्वासन पनि पाएको उनले बताए । उनले श्रीलंकाले अहिले कोरोनाको तेस्रो वेभको सामना गरिरहेको जानकारी पनि दिए । श्रीलंकामा कोभिड १९ का दुई लाखभन्दा बढी संक्रमित छन् ।