मुख्यमन्त्री गुरुङले गुमाए विश्वासको मत, ढल्यो प्रदेश सरकार

-


     सफल आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित


पोखरा, २७ जेठ । संसदको विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले स्वतः पदमुक्त भएका छन् ।

मुख्यमन्त्री गुरुङले बिहीबार प्रदेशसभासमक्ष राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावको पक्षमा २७ मत मात्रै परेकाले उनी पदमुक्त भएका हुन् ।

दोस्रो कार्यकालका लागि मुख्यमन्त्रीका रूपमा निरन्तरताका लागि उनलाई प्रदेशसभामा कायम कुल ६० सांसदको बहुमत अर्थात ३१ मत आवश्यक थियो ।

५८ जना सांसद उपस्थित प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २७ मत प¥यो भने ३० जना सांसदले विपक्षमा मतदान गरेको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे ।

यस्तै, १ जना तटस्थ बस्दा १ जना अनुपस्थित रहे । राष्ट्रिय जनमोर्चा नेपालका सांसद कृष्ण थापा दलको ह्वीप विपरीत पुनः तटस्थ बसेका हुन् भने युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ अनुपस्थित रहेका हुन् ।

अब गण्डकीमा संविधानको १६८ (५) बमोजिम प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आह्वान हुनेछ ।

गण्डकीमा कुल ६० सदस्यमध्ये नेकपा एमालेका २७, काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखबाहेक ११, राष्ट्रिय जनमोर्चा नेपाल (राजमो) का ३, जनता समाजवादी पार्टी (जसपा) का २ र स्वतन्त्र १ सदस्य हुन् ।