गण्डकीमा विपक्षी गठबन्धनद्वारा सरकारको दाबी

- बहुमत ३१ सदस्यको बुझाइयो हस्ताक्षर

-



     सफल आवाज    
     जेठ २८ गते २०७८ मा प्रकाशित



पोखरा, २८ जेठ । गण्डकी प्रदेशमा काँग्रेसहित विपक्षी गठबन्धनले नयाँ सरकारमा बहुमतसहित दाबी पेस गरेको छ । काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा अघि सार्दै विपक्षी गठबन्धनले बहुमत ३१ सदस्यको हस्ताक्षर जुटाएको शुक्रबार साँझ प्रदेश प्रमुख समक्ष बुझाएका छन् ।

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनको लागि २४ घण्टाको समयसीमा दिएपछि नेपाली काँग्रेससहितका दलहरु त्यसको २ घण्टा नबित्दै प्रदेश प्रमुख निवास पुगेका थिए । पोखरा–८, रत्नचोकस्थित प्रदेश प्रमुख निवासमा साँझ ५ बजे आवश्यक ३१ जना सांसदहरु नै सशरीर निवासभित्र प्रवेश गरेका थिए ।


कुल ६० सदस्यमध्ये सरकार बनाउन कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टी २ र स्वतन्त्र १ गरी ३१ जनाको हस्ताक्षर बुझाइएको मुख्यमन्त्रीका दाबेदार काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बताए । विपक्षी गठबन्धनमा स्वतन्त्र सांसद दीपक मनाङ्गेले साथ दिएपछि बहुमत सम्भव भएको हो । जनमोर्चाका सांसद कृष्ण थापाको हस्ताक्षर छैन।

प्रदेश प्रमुखले संविधानको धारा १६८ उपधारा ५ बमोजिम सरकार गठनका लागि शनिबार दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेकी थिइन् । नयाँ सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले एमाले सांसदको मात्रै २७ मत पाएपछि पदमुक्त भएका थिए । उनको विपक्षीमा ३० मत खसेको थियो । जनमोर्चाका कृष्ण थापा तटस्थ बस्दा स्वतन्त्र सांसद दीपक मनाङ्गे संसदमै आएका थिएनन्।