काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप

-



     सफल आवाज    
     जेठ ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० जेठ । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप भएको छ । कोरोना संक्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाको म्याद थप गर्दै केही खुकुलो बनाइएको छ । निषेधाज्ञा असार ७ गते मध्यरातसम्म रहने भएको छ ।

संक्रमणदर ३० प्रतिशतभन्दा तल नझरेकाले निषेधाज्ञालाई निरन्तरता दिइने जनाइएको छ । सवारी आवागमनमा लगाइएको रोक यथावत छ ।

होटल रेस्टुरेन्ट अहिलेसम्म पूर्ण प्रतिवन्धित रहेको अबदेखि टेक अवे र होम डेलिभरी सेवा दिन अनुमति दिइएको छ । बिहान ७ देखि होटल रेस्टुरेन्टले टेक अवे र होम डेलिभरी सेवा दिन सक्नेछन्। अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ ।

कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ । विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ ।

यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले प्रवेश पाएन ।

उपत्यकामा दोस्रो महामारीपछि गत १६ वैशाखदेखि निषेधाज्ञा लगाइएको थियो ।