कास्कीमा असार ७ सम्म निषेधाज्ञा थपियो

-



     सफल आवाज    
     जेठ ३० गते २०७८ मा प्रकाशित



पोखरा, ३० जेठ । कास्कीमा एक सातासम्म निषेधाज्ञा अवधि बढाइएको छ । डिसिसिएमसीको निर्णयका आधारमा कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले असार ७ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम रहने आदेश जारी गरेका हुन् ।

नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना सुरु भएपछि जिल्लामा गत वैशाख १५ देखि निषेधाज्ञा जारी छ । निषेधाज्ञा जेठ ३१ गते राति १२ बजे सकिँदै थियो ।

आइतबार जारी आदेशमा असार १ देखि लागु हुने गरी दैनिक उपभोग्य खाद्यन्न सामग्री बेच्न पसल, तरकारी, फलफूल, दुध तथा दही, माछा मासु, बिक्री वितरण गर्ने पसल, कृषिजन्य सामग्रीका पसल खोल्न पाइने अवधि ५ देखि १० सम्म खुला राख्न सकिने गरी सेवा यथावत राखिएको छ ।

साथै बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक सेवाको लागि ५० प्रतिशत कर्मचारीको उपस्थितिमा ५० प्रतिशत शाखाबाट बिहान ११ देखि दिउँसो २ सम्म सेवा दिन सकिने भनिएकाे छ ।

जसमा निक्षेप ५० हजारभन्दा बढी, चेक भुक्तानी, क्लीअरिङ र विप्रेषण सेवामात्र सञ्चालन हुनेछ । यसबाहेक अन्य सेवामा निषेधाज्ञा यथावत् रहेकाे कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताएका छन ।