विपक्षी गठबन्धन सक्रिय हुँदा पार्टी एकतामा ओलीको जोड : कोटेश्वर भेटमा के भयो कुराकानी ?

-



     सफल आवाज    
     असार १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ असार । विपक्षी गठबन्धन शक्तिशाली बन्दै गएपछि नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पार्टी एकतालाई जोड दिन लागेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत लिन नसकेर पदमुक्त भएपछि पार्टी अध्यक्ष ओलीको छटपटाहट बढेको देखिन्छ ।

एकपछि अर्को असंवैधानिक कदमले पार्टीभित्र ओली कमजोर बन्दै गएपछि पछिल्ला दिनमा विपक्षी गठबन्धन हाबी हुँदै गएको छ । ओलीले पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै एकताका लागि विपक्षीसँग छलफलका लागि ‘दूत’ खटाउन थालेका छन् ।

आफू निकट मानिएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ओलीले दूतको रुपमा खटाउँदै आएका छन् । सोमबार उपााध्यक्ष वामदेव गौतमसँग पार्टी एकताका लागि पहल गर्न आग्रह गर्दै ओलीले पौडेललाई पठाएका थिए । गौतमलाई माधव नेपाल समूहलाई फकाउन र एकताको पहलका लागि आग्रह गर्न अ‍ोलीले पौडेललाई भेटका लागि पठाएका हुन् । गौतमले अध्यक्षबाट धेरै गल्ती भइसकेको तर आफू एकताकै पक्षमा रहेको बाहेक ठोस केही जवाफ नदिएको बुझिएको छ ।

पार्टी भित्रको नेपाल समूह र विपक्षी गठबन्धनलाई कमजोर बनाउन पटकपटक विभिन्न कार्ड खेलेका ओलीले पछिल्लो समय बामदेव गौतमलाई आगामी नेतृत्वका लागि सहयोग गर्ने आश्वासन दिँदै दूतहरुलाई भेटका लागि पठाइरहेका छन् ।

कोटेश्वरमा के भयो कुराकानी ?

सोमबार साँझ एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच डेढ घण्टा छलफल भएको छ । छफलमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार विपक्षी गठबन्धनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा नेपाल, देउवा र प्रचण्डबीच छलफल भएको हो ।

अध्यक्ष ओलीले नेपाल समूहसँग पार्टी एकताका लागि लचक हुने संकेत देखाउँदै गर्दा विपक्षी गठबन्धनका दुई प्रभावशाली नेता नेपाल निवासमै पुगेका हुन् । छलफलमा प्रतिनिधिसभा पुनस्र्थापना, वैकल्पिक सरकार र विपक्षी गठबन्धनको विषयमा नेताहरुको छलफल केन्द्रित भएको खड्काको भनाइ छ ।

प्रधानमन्त्री ओलीले पटकपटक संविधान विपरित काम गरेको र जानाजान जनताका प्रतिनिधिको संस्था प्रतिनिधिसभालाई विघटन गरेको भन्दै देउवा र प्रचण्डले उनीसँग मिल्नु लोकतन्त्र र संविधानका लागि घातक हुने भन्दै विपक्षी गठबन्धनमा जोड दिएका हुन् ।

सोमबारको भेटमा विशेष गरेर प्रचण्ड र देउवाले नेपालसँग यो साथलाई निरन्तरता दिएर अगाडि बढ्न अनुरोध गरेका छन् । नेपालले ओलीसँग मिल्ने अवस्था नभएको, राजनीतिक घटनाक्रमले परिस्थिति निक्कै अगाडि बढेको भन्दै त्यसमा शंका नगर्न आश्वासन दिएका छन् ।

कोटेश्वर भेटमा विपक्षी गठबन्धन राष्ट्र, राष्ट्रियता, गणन्त्र र संविधानको रक्षाका लागि एक ठाउँ उभिने, एक आपसमा विश्वासका साथ अगाडि बढ्ने, महामारीको समयमा नागरिकका समस्याको सवालमा आवाज उडाउने, राहत र खोप उपलब्ध गराउने विषयमा जोड दिने, अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने सरकारी प्रयत्नको भन्डाफोर गर्ने, संवैधानिक निकायमा भएका नियुक्ति र गतिविधिको निगरानी गर्र्नेलगायत विषयमा छलफल भएको औपचारिक रुपमा जानकारी गराइएको छ ।

यद्यपि सोमबार कोटेश्वरमा भएको शीर्ष नेताको भेट प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ र अबको राजनीतिक घटनाक्रममा एकसाथ अघि बढ्ने विषयमा केन्द्रित भएको स्रोतको दाबी छ ।