एसईईमा ८० प्रतिशतभन्दा बढी अंक दिन कारण खुलाउनुपर्ने

-



     सफल आवाज    
     असार १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सैद्धान्तिक विषयमा ८० प्रतिशत वा सो भन्दा बढी अंक दिनुपर्ने भए कारण खुलाउनुपर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले ‘माध्यमिक शिक्षा परीक्षाकाे कक्षा १० को विद्यार्थी मूल्याङकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्याविधि, २०७८‘ जारी गर्दै सैद्धान्तिक विषयमा ८० प्रतिशत वा सो भन्दा बढी अंक दिनुपर्ने भए कारण खुलाउनुपर्ने निर्णय गरेको हो ।

‘सैद्धान्तिक तर्फ कुनैपनि विषयमा ८० प्रतिशत वा सो भन्दा बढी प्राप्ताङक प्राप्त गर्ने विद्यार्थीको कैफियत महलमा विषयगत शिक्षकले ठोस कारण उल्लेख गरेको हुनुपर्नेछ’, कार्यविधिको ७ (ग) मा भनिएको छ, ‘जस्तै : (क) निजको कक्षा ८, ९ र १० का परीक्षाहरुका उपलब्धीहरु (ख) विद्यालयको २०७५ र सो भन्दा अगाडिका अभिलेखहरु हुन सक्नेछन् । मूल्याङकन समितिले मूल्याङ्कन गरी पठाएको प्राप्ताङक अस्वभाविक देखिएमा इकाईले त्यस्ता विद्यालयका विद्यार्थीको मूल्याङकनको आधार र प्रमाण कागजात समेत माग गर्न सक्नेछ ।’

यस्तै सम्बन्धित विद्यालयले विद्यार्थीको प्रयोगात्मक प्राप्ताङक चढाउँदा सम्बन्धित विद्यालयहरुले यस अगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वयन इकाईमा पठाएको विवरणमा फरक नपर्ने गरी सोही अंक चढाउनुपर्नेछ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आउँदो साउन १५ भित्र सार्वजनिक हुने जानकारी दिएको छ ।

बोर्डले असार २० गतेभित्र विद्यार्थीको मूल्याङकन गरि सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउन विद्यालयलाई निर्देशन दिएको हो ।

बोर्डका अनुसार विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै तयारी पूरा गरी साउन १५ भित्र नतिजा सार्वजनिक गर्ने बोर्डको योजना छ ।

कोरोना भाइरसको संक्रमण तिब्रगतिमा फैलिएपछि सरकारले एसइईको नतिजा आन्तरिक मूल्यांकनको आधारमा सार्वजनिक गर्न लागेको हो । गएको वर्ष पनि आन्तरिक मुल्याङकन कै आधारमा नतिजा सार्वजनिक भएको थियो ।

साउन १५ सम्ममा नतिजा आएपछि भदौबाट कक्षा ११ को पठनपाठन सुरु हुनेछ ।