मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन पत्र दर्ता

-



     सफल आवाज    
     असार २ गते २०७८ मा प्रकाशित



पोखरा, २ असार । गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि संसद सचिवालयमा सूचना दर्ता भइसकेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

संविधानको धारा १६८ (५) बमोजिम गत शनिबार मात्र काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । नियुक्तिको ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ ।

बजेट लगायतका काम र मन्त्रालय विभाजनमा समेत अन्योल भएपछि विश्वासको मत छिट्टै लिन लागिएको बताइएको छ । स्रोतका अनुसार उनले असार ४ मै विश्वासको मत लिने छन् । सरकारले मंगलबार मात्रै आगामी आवको बजेट सार्वजनिक गरेको छ । अघिल्लो दिन हतार हतारमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

पृथ्वीसुव्वा गुरुङले विश्वासको मत गुमाएपछि मुख्यमन्त्रीबाट स्वतः पदमुक्त भएका थिए । दोस्रो मुख्यमन्त्रीको रुपमा नियुक्त पोखरेलले नियुक्तिकै दिन ५ सदस्यीय मन्त्रीमण्डल बिस्तार गरेका थिए । जसमा काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहित स्वतन्त्रबाट १–१ जनालाई विनाविभागीय मन्त्री नियुक्त गरिसकेका छन् । भागबण्डा नमिल्दा गण्डकीमा मन्त्रिमण्डल बिस्तार अड्किएको छ भने नियुक्त मन्त्रीहरुले पनि पदभार ग्रहण गरेका छैनन् ।