धितोपत्र बोर्डको बिज्ञप्तिकोअसर, नेप्सेमा ५२.४१ अंकको गिरावट

-



     सफल आवाज    
     असार २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ असार । देशमा हुने राजनीतिक घटनाक्रम होस वा स्वास्थ्य संकट, कुनै पनि प्रकारको विपत्ती वा अर्थ क्षेत्रमा हुने नकारात्मक क्रियाकलाप र सूचनाहरुको कारण शेयर बजारमा त्यसकाे प्रत्यक्ष प्रभाव पर्ने गरेको देखिएको छ ।

यो क्रम विगतका दिनहरुबाट नै देखिदैं आएको कुरा हो । मंगलबार धितोपत्र बोर्डले ५१ कम्पनीहरुमा चलखेलको कारण शेयरमूल्य बृद्धि गरेकाे भनी सूचना प्रकाशमा ल्याएपछि आज शेयरबजार प्रभावित भएको आँकलन गरिएको छ ।

नेप्से परिसूचक ५२.४१ अंकले घटेको छ । यसरी घटेको नेप्से २९६९.६९ विन्दुमा पुगेर रोकिएको छ । नेप्से १.७३ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ८.५६ अंकले घटेर ५४१.७० विन्दुमा पुगेको छ ।

कुल २१९ वटा कम्पनीको कारोबार हुँदा दुई करोड ८२ लाख ८९ हजार एक सय अठ्ठाईस कित्ता शेयरको कारोबार भएको छ । यसबाट १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३१९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रिसेसनबाटै दोहोरो तथा एकोहोरो रुपले घटदै बढदै आएको नेप्से दिउँसो १२ बजेर ४० मिनेट जाँदासम्म बैंकिङ, माइक्रोफाइनान्स र म्युचुअल फण्ड बाहेक १० उपसमूह राताम्मै भएका थिए । त्यसपछि बजार बन्द हुँदासम्म आउँदा माइक्रोफाइनान्स बाहेक सबै उपसमूह राताम्मै देखिए । उनीहरूकाे शेयर घटेकाे छ ।

आज हरियो लागेको एक मात्र उपसमूह माइक्रोफाइनान्स हाे । सूचक २.६३ प्रतिशतले बढेको छ ।

बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहहरु राताम्मै भए । उनीहरु सबैको शेयर घटेको छ ।

कारोबारको आधारमा नेपाल पुनर्बीमा कम्पनी अब्बल देखिएको छ । कम्पनीको ६० करोड ८९ लाख १९ हजार ४१६ रुपैयाँ बराबरको कारोबार भएको छ ।