शताब्दी पुरुष जोशी अस्पतालबाट घर फिर्ता

-



     सफल आवाज    
     असार ४ गते २०७८ मा प्रकाशित



ललितपुर, ४ असार । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी दशौँ दिनमा अस्पतालबाट घर फर्किएका छन् । उनलाई श्वासप्रश्वास, छाति, मुटुकाे चालमा समस्या तथा रक्तचापमा समेत कमी देखिएपछि ग्वार्काेस्थित किष्ट शिक्षण अस्पतालमा गत जेठ २६ गते भर्ना गरी उपचार शुरुआत गरिएको थियो ।

उनको स्वास्थ्यमा पूर्ण सुधार भएपछि आज दिउँसो घर पठाइएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जानकारी दिए । उनले भने, “शताब्दी पुरुषका छातिमा समस्या देखिएपछि हामीले अस्पतालमा भर्ना गरेका थियौँ । उनमा कोरोना सङक्रमणको पनि परीक्षण भयो । सङ्क्रमण देखिएन । रक्तचाप नियन्त्रणमा आएको छ ।

क्षयरोगको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । ” लामो उमेरका कारण निमोनियाले असर गर्ला भनी नौ दिन अस्पतालमा राखेर दशौँ दिनमा घर पठाएको निर्देशक बज्राचार्यले जानकारी गराए । उनले एकहप्तापछि फलोअपका लागि शताब्दी पुरुषलाई चिकित्सकले स्वास्थ्य जाँच गर्नेछन् । अस्पतालले केही समय पहिले शताब्दी पुरुष जोशी र उनका धर्मपत्नी राधादेवीको आजीवन निः शुल्क उपचार गर्ने प्रतिवद्धता जनाएको थियो ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षणमा विशेष योगदान दिँदै आएका शताब्दी पुरुष जोशी गत वैशाख ३० गतेदेखि १०१ वर्ष पुरा गरी १०२ वर्षमा प्रवेश गर्नुभएको छ । ।