काठमाडौं उपत्यकामा १ हप्ता थपिएको निषेधाज्ञामा कुन कुन क्षेत्र खुकुलो ?

-



     सफल आवाज    
     असार ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ असार । उपत्यकामा निषेधाज्ञा केही खुकुलो पार्दै १ हप्ता थपिएको छ । उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले असार ८ गतेदेखि एक सातासम्म अवधि थप गर्ने निर्णय गरेको हो ।

अबको निषेधाज्ञामा निजी सवारीलाई जोरबिजोर अनुसार चल्न दिइनेछ । ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाका अनुसार ट्याक्सीहरूलाई पनि जोरबिजोर लागू गरेर चलाउन दिइनेछ । सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म खाेल्न दिइनेछ ।

यस्तै, सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल चल्नेछन् । खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ ।

रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन् । शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्नेछ । निर्माण सामग्रीका पसल बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ ।