
भरतपुर, २४ असार । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । गए राति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।
जेसिभीले ढुङ्गा पन्छाउन नसके ग्रेडरले फुटाउनुपर्ने भएमा सडक सञ्चालन हुन समय लाग्ने उहाँले बताउनुभयो । बुधबार बिहान ९ बजेदेखि एकतर्फीरूपमा सञ्चालनमा आएको सडक साँझ ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको थियो ।
सडकखण्डको सो क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन । सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिरोका कारण सडक पटकपटक अवरुद्ध हुँदै आएको छ । पहिराले सयौँ सवारी साधन रोकिएका छन् ।
पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध
पहिराे खस्दा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो । राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ शाहुखर्कमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको स्थानीयवासीले जनाएका छन् । राजमार्गमा माथिबाट पहिरो खसेको छ ।
राजमार्ग सञ्चालन गर्न बिहानैदेखि डोजर प्रयोग गरिएका छन । ठूला ठूला ढुङ्गासहित राजमार्गमा पहिरो खसेकाले सञ्चालन हुन अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा हजाराैं यात्रुसँगै मालबाहक ट्रक शाहुखर्क वरपर रोकिएको प्रहरीले जनाएको छ ।
तनहुँमा पृथ्व राजमार्ग अवरुद्ध
तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आएको बाढीको कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । पानीको बहाव बढेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। पानीको बहाव घटाउन प्रहरी र स्थानीयवासी खटिएको उनले बताए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



