देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

-



     सफल आवाज    
     असार २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ असार । सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको ठहर गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमबार विघटनको निर्णय बदर गरेको थियो ।

अदालतले संविधानको धारा ७६ (५) अनुसार दाबी गर्दै बहुमत सदस्यको हस्ताक्षर बुझाएका देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशसमेत दिएको हो । देउवाले नियुक्तिको २ दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग्दै १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दायर गरिएको थियो ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

आफूलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि परमादेश तथा प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै विघटित प्रतिनिधि सभाका १४६ सांसदको हस्ताक्षर लिएर देउवाले जेठ १० गते रिट दायर गरेका थिए । उक्त रिटमाथि प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुँदै आएको थियो ।

इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई थिए ।

गत पुस ५ मा पनि मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन फागुन ११ गते अदालतले बदर गरिदिएको थियो ।