कोरियामा नेपाली मजदुरको तलब अब न्यूनतम २ लाख

-



     सफल आवाज    
     असार २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ असार । दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा वेदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा ५ प्रतिशतले वृद्धि गरी प्रतिघण्टा ९ हजार १ सय ६० कोरियन वन कायम गरेको हो ।

सन् २०२२ देखि लागू हुने यो तलब अनुसार हालको प्रतिघण्टाको ज्याला ८ हजार ७ सय २० कोरियन वनबाट ४ सय ४० वन वृद्धि भएको हो । यसअनुरुप हप्तामा ५ दिन र दैनिक ८ घण्टा मात्र काम गर्दा पनि मासिक १९ लाख १४ हजार ४ सय ४० वन हुनेछ । यो रकम झण्डै नेपाली २ लाख बराबर हो ।

न्यूनतम ज्याला निर्धारण समितिमा नौ सदस्य रहेका थिए । समितिमा मजदुरका पक्षबाट, कम्पनी व्यवसायीको तर्फबाट र सर्वसाधारणका तर्फबाट प्रतिनिधित्व हुने गर्दछ । सोमबार सरकारी कम्प्लेक्स सेजोङमा भएको बैठकले मध्यरातमा ज्याला बढाउने निर्णय गरेको हो ।

न्यूनतम ज्याला निर्धारण समितिको बैठकमा मजदुरका तर्फबाट प्रतिनिधित्व गर्नेले अहिलेको ८ हजार ७ सय २० वनबाट १० हजार वन माग राखेका थिए भने व्यवसायीको तर्फबाट प्रतिनिधित्व गर्नेले भने ८ हजार ७ सय २० नै कायम गर्नुपर्ने अडान लिएका थिए ।

मजदुरका प्रतिनिधि र व्यवसायीका प्रतिनिधिबीच निष्कर्ष निस्किन नसकेपछि सर्वसाधारणबाट प्रतिनिधित्व गर्नेले मध्यमार्गी बाटो सुझाएका थिए । उनीहरूले नै प्रतिघण्टा ४ सय ४० वन वृद्धि गर्न प्रस्ताव गरेका थिए र सहमति भएको थियो ।

प्रतिघण्टा ४ सय ४० वनको वृद्धि भनेको ५ दशमलव ०४६ प्रतिशतको वृद्धि हो तर न्यूनतम ज्याला निर्धारण समितिले औपचारिक प्रयोगका लागि ५.१ प्रतिशतको वृद्धि मानेको छ । कानूनीरूपमा न्यूनतम ज्याला निर्धारण समितिले बढेको ज्याला कोरियाको श्रम मन्त्रालयमा सिफारिस गर्दछ र श्रम मन्त्रालयले अगष्ट ५ मा ज्याला घोषणा गर्नेछ ।रासस