प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, मतदान अघि किन बाहिरिए एमाले नेताहरू ?

-



     सफल आवाज    
     श्रावण ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् । गत असार २९ मा प्रधानमन्त्री नियुक्त देउवाले पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा विश्वासको मत प्राप्त गरेका हुन् । उनको पक्षमा १ सय ६५ मत परेको छ भने विपक्षीमा ८३ मत खसेको छ ।

तटस्थमा १ मत मात्र परेको छ । संसदमा २ सय ४९ जना उपस्थित रहेकोमा प्रधानमन्त्री देउवालाई आवश्यक बहुमत पु¥याउन १ सय ३६ सदस्यको समर्थन आवश्यक थियो । संसदमा कुल सदस्य २ सय ७२ मध्ये देउवालाई काँग्रेसका ६१, माओवादी केन्द्रबाट ४८, जसपाका ३२, एमालेका २३ र जनमोर्चा नेपालका १ सांसदले मत दिएका हुन् ।

गत पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् प्रतिनिधिसभा भंग गरेसँगै नेपाली राजनीतिमा मडारिएको कालो बादल देउवालाई ५ पटक प्रधानमन्त्री बन्न विश्वासको मत प्राप्तसँगै केही हदसम्म चिरिएको छ ।

प्रतिनिधि सभाको दोश्रो बैठकमा देउवाले संविधानको धारा ७६ को उपधारा ६ बमोजिम विश्वासको मत मागेका थिए । संसदमा उपस्थित संख्याको आधारमा देउवाले बहुमतसहित विश्वासको मत प्राप्त गरे । योसंगै देउवा पाँचौ पटक प्रधानमन्त्री बन्न सफल भए । प्रतिनिधि सभाको अर्को वैठक साउन ८ गते दिनको १ बजे बस्ने भएको छ ।

किन बाहिरिए एमाले नेताहरू संसद भवनबाट ?

मतदानमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसहितका केहि नेता संसद भवनमा रहेपनि मतदान शुरु हुनु पहिले नै एमालेका केहि नेताहरु संसद भवनबाट बाहिरीएका थिए । संसदमा अनैतिक काम भएको आरोप लगाउँदै उनीहरु बाहिरीएका हुन ।

जनता समाजवादी पार्टीको महन्त ठाकुर तथा राजेन्द्र महतो पक्षले पनि देउवालाई विश्वासको मत दिने कुरा अनैतिक भएको एमाले नेता सांसद झपट रावलकाे भनाई थियो । रावलका अनुसार ठाकुर र महतो प्रतिगामी भएर देउवालाई समर्थन गरे । उनले भने, पार्टीमा विभाजन ल्याउनका लागि ओलीलाई साथ दिएकाहरु देउवाको समर्थन गर्न गएका छन्, यो अनैतिक काम भएको छ । त्यसैले हामीले मतदानमा सहभागिता जनाएनौं ।

मतदान हुनुअघि सांसद यज्ञ सुनुवार, झपट रावल, घनश्याम भुषाल, दीकपप्रकाश भट्ट, नारायण खतिवडा, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, राजबहादुर बुढा लगायतका सांसदहरु संसद भवनबाट बाहिरीएका थिए ।

देउवालाई कांग्रेसहित माओवादी केन्द्र, जनता समाजवादी पार्टीकाका उपेन्द्र यादव, बाबुराम भट्टराई, महन्त ठाकुर, राजेन्द्र महतो पक्ष, राष्ट्रिय जनमोर्चालगायतका दलका सांसदहरुले प्रस्तावको पक्षमा बहुमत दिएका हुन ।