सातै प्रदेशका प्रदेश प्रमुख हटाउने सरकारको तयारी

-



     सफल आवाज    
     श्रावण १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ साउन । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने भएको छ ।

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ७ प्रदेश प्रमुख हटाएर गठबन्धनका तर्फबाट भागबण्डामा नियुक्त गर्ने सहमति शीर्ष नेताहरूबीच भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख पदमुक्त र नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार केहीलाई तत्कालै हटाउने तयारी छ ।

गठबन्धनका नेताहरूबीच सातमध्ये कांग्रेसले २, माओवादीले २, एमालेको माधव नेपाल पक्षले २ र जसपाले एकजना प्रदेश प्रमुख पाउने समझदारी बनेको छ ।

नेपालले नाम तत्कालै दिन एमाले एकता वा विभाजनको प्रक्रिया टुंगो नलागेकाले समस्या भएपछि तत्काल सबै प्रदेशका प्रमुख नहटाइ केहीलाई पदमुक्त गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

हाल प्रदेश १ मा सोमनाथ प्यासी, २ मा राजेश झा अहिराज, वागमतीमा विष्णु प्रसाई, गण्डकीमा सीताकुमारी पौडेल, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन् ।