भारतमा थप ४१ हजार ६४९ नयाँ संक्रमित

-



     सफल आवाज    
     श्रावण १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ साउन । भारतमा थप ४१ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४१ हजार ६ सय ४९ जना नयाँ सङ्क्रमित भएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले ४ लाख ८ हजार ९ सय २० जना सङ्क्रमित अवस्थामै रहेका जनाएको छ । सङ्क्रमित अवस्थामै रहेकाको यो सङ्ख्या कूल सङ्क्रमितहरुको सङ्ख्याको १.२९ प्रतिशत मात्रै भएको पनि मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म कूल सङ्क्रमितको संख्या ३ करोड १६ लाख १३ हजार ९ सय ९३ जना पुगेका छन् । भारतमा अहिले सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या भने ३ करोड ७ लाख ८१ हजार २ सय ६३ रहेको छ । तीमध्ये ३७ हजार २ सय ९१ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् ।

एकै दिनमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनभन्दा बढी भएको छ । भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म ५ लाख २३ हजार २ सय १७ जनाको मृत्यु भएको छ । तीमध्ये ५ सय ९३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

अधिकारीले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ४६ करोड ६४ लाख मानिसको कोरोना परीक्षण गरिएको छ भने ४६ करोड १५ लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।