
झापा, १७ साउन । कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि ७ दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन्।
प्रदेश १ का १४ जिल्लामध्ये झापामा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेको जनाउँदै जिल्ला कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको निर्णयानुसार शनिबार राति १२ बजेदेखि साउन २३ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको आदेशमा उल्लेख छ । झापाका १५ पालिकामध्ये १० वटा पालिका यसअघि नै स्थानीयस्तरमा सिल गरिएका थिए ।
निषेधाज्ञाबमोजिम आजदेखि पूर्वी सीमानाका काँकडभिट्टाबाट विदेशी नागरिकको प्रवेशमा रोक लगाइएको छ । काँकडभिट्टाबाहेक अन्य नाका तथा गौँडाबाट सबैलाई प्रवेश निषेध गरिएको आदेशमा उल्लेख छ । काँकडभिट्टाबाट प्रवेश गर्ने नेपाली नागरिकको अभिलेख राखिने, नाकामै एन्टिजेन विधिबाट कोरोना परीक्षणको व्यवस्था मिलाउने, कोरोना पोजेटिभ देखिएमा नजिकको आइसोलेशन केन्द्र वा मेची अस्पतालमा लगेर उपचार गराउने, नेगेटिभ देखिएमा आवश्यक समन्वय गरी निजको गन्तव्यमा पठाउने व्यवस्था मिलाइने प्रजिअ तिम्सिनाले बताए।
निषेधाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमिनारजस्ता कार्यसञ्चालन गर्न नपाइने, जिल्लाबाहिर अनिवार्य जानैपर्ने भएमा सवारी पास लिनुपर्ने, उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सकेसम्म थोरै जनशक्ति प्रयोग गर्ने र त्यस्तो जनशक्तिलाई खान र बस्ने सुविधा उद्योग परिसरभित्रै मिलाउनुपर्ने निषेधाज्ञामा उल्लेख गरिएको छ ।
निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था न्यून कर्मचारीद्वारा हप्तामा तीन दिन मात्र सञ्चालन गर्न, हाटबजार, भेला, जात्रा, महोसत्व पार्टी, भोजलगायतका कार्य नगर्न आग्रह गरिएको छ । निषेधाज्ञाको अवधिमा अत्यावश्यक वस्तुमा कृत्रिम अभाव गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गरेमा कानूनबमोजिम कडा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी तिम्सिनाले बताए।
छोटो दूरीका सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनको सञ्चालनमा रोक लगाइएको छ । यद्यपि पूर्वपश्चिम राजमार्गमा लामो तथा मध्यम दूरीका सवारी साधन सञ्चालन गर्न पाइने उल्लेख छ । बजार, सिनेमा हल, पार्टीप्यालेस, स्वीमिङ पुल, सपिङमल, मनोरञ्जनस्थल, सैलुन, पार्क, खेलकुद, जिमखाना, ब्यूटीपार्लर, पुस्तकालय आदि बन्द गरिने निषेधाज्ञामा भनिएको छ ।
जिल्लामा कोडिभ–१९ को सङ्क्रमणबाट ४ सय ४५ जनाको मृत्यु भइसकेको छ । हाल आइसोशनमा २ हजार ४१३ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा यसअघि गरिएको निषेधाज्ञा १५ दिनअघि मात्र खुकुलो पारिएको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



