
वासिङ्टन, २२ साउन । अमेरिकाले इरानको नयाँ सरकारलाई परमाणु सम्झौतासम्बन्धी वार्तामा फेरि फर्कन आग्रह गरेको छ । इरानका नवनियुक्त राष्ट्रपति इब्राहिम रायसीले जिम्मेबारी ग्रहण गरेकै दिन बिहीबार अमेरिकाले परमाणु सम्झौताको विषयलाई सकारात्मक दिशातर्फ लैजान आग्रह गरेको हो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले कूटनीतिक वार्ताको अवसर सधैँ खुल्ला नरहने चेतावनीसमेत दिएको समाचारमा जनाइएको छ । सन् २०१५ मा इरान र अन्य ६ देशहरू अमेरिका, बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीबीच भएको एउटा सम्झौताअनुसार इरानलाई आर्थिक क्षति पुग्ने केही प्रतिबन्धहरू हटाइएको बदलामा इरानले आफ्ना केही परमाणु कार्यक्रम रोकेको थियो ।
अहिले फेरि त्यसलाई निरन्तरता दिन अमेरिकाले इरानलाई आग्रह गरेको हो । बिहीबार पद सम्हालेपछि इरानी राष्ट्रपति रायसीले पनि देशमाथि लागेका प्रतिबन्ध अन्त्यका लागि गरिने कूटनीतिक पहललाई समर्थन गर्ने आशय व्यक्त गरे । इरानका नयाँ राष्ट्रपतिको आशय र अमेरिकाको आग्रह मिल्दो जुल्दो भएकाले दुई देशको सम्बन्ध सकारात्मक दिशातर्फ उन्मुख हुन सक्ने अपेक्षा गरिएको छ ।
यसअघि सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु सम्झौताबाट अमेरिकालाई अलग्याउँदै इरानमाथि पुराना प्रतिबन्धहरूलाई निरन्तरता दिएका हुन । त्यसपछि दुई देशबीचको सम्बन्धमा तिक्तता आएको थियो । पश्चिमा देशहरूले इरानमाथि परमाणु हतियार बनाउन लागिरहेको आरोप लगाउने गरेका छन् भने इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ ।
इरानी नयाँ राष्ट्रपति रायसीले इरानमाथिका प्रतिबन्धहरू अन्त्य गर्ने कुनै पनि कूटनीतिक प्रयासहरु आफूले गर्ने बताएका थिए । सम्बन्ध सुधार गर्न र सम्झौतालाई पुनर्जीवित गर्न अस्ट्रियाको राजधानी भियानामा केही समयदेखि वार्ता भइरहेपनि नतिजा आउन सकेको छैन तर प्रयास भने गरिरहने उनले बताए ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




