“परेलीमा आइबस्छ तिम्रो रुप घरिघरि…”

-


     दिनेश अधिकारी    
     श्रावण ३० गते २०७८ मा प्रकाशित


एल्बमबाट / तस्वीर – पैंतीस…

प्रकाश गुरुङ ! हो, नेपाली आधुनिक संगीत परम्परामा फरक शैली भित्र्याउने मात्र होइन, त्यसलाई स्थापित गर्ने संगीतकार । २०२९ सालमा दार्जिलिङबाट काठमाडौं घुम्न आएका प्रकाशको यहाँ नेपाली गीतका शिखर पुरुषहरु नारायण गोपाल र गोपाल योञ्जनसंग भेट भयो। भेट हुनु के थियो उहाँहरुले प्रकाश गुरुङलाई “लालुपाते कल्चर हाउस” मा लैजानु भयो र वाद्यवादकको जिम्मेवारी सुम्पनु भयो। नारायण गोपाल र गोपाल योञ्जनका अतिरिक्त गीतकार नगेन्द्र थापा र विख्यात नृत्य निर्देशक चतुर्भुज आशावादी समेत आबद्ध रहेको त्यो संस्था त्यसबेला निक्कै सक्रिय थियो र यसमा आवध्द भए लगत्तै प्रकाश गुरुङ समेत सम्मिलित त्यो टोलीले भारतको दार्जिलिङ, सिक्किम लगायतका विभिन्न स्थानमा एक महिनाभन्दा लामो सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो।

घुम्न आएका प्रकाश यसपछि यसरी स्थायीरुपमा (२०३६/३७ सालमा करिब २ वर्ष पोखरामा बिताएको समेत मिसाएर) काठमाडौंको बासिन्दा भए । २००८ साल पौष १ गते (तदनुसार १६ डिसेम्बर १९५१) दार्जिलिङमा जन्मेका प्रकाश गुरुङ नेपाल प्रज्ञाप्रतिष्ठान प्रतिष्ठानको संगीत निर्देशकको पदबाट २०६८ साल पौषमा सेवा निवृत भएका हुन्। फेरि पनि उनी अहिले पनि संगीतकर्ममै क्रियाशील छन्। “साधना कला केन्द्र” नामको संगीत विद्यालयमा ३१ वर्ष संगीत प्रशिक्षणको काम गरेका उनी आजकाल आफैंले सञ्चालन गरेको “संगीत सिर्जना” नामको संगीत विद्यालयमा व्यस्त छन् । प्रकाश गुरुङको मूल परिचय संगीतकार नै हो तापनि उनी गायक, गीतकार, वाद्यवादक, संगीत प्रशिक्षक र संगीत संयोजक पनि हुन्।

सन् १९६८ मा अल इण्डिया रेडियो खर्स्याङमा आफ्नै स्वर र संगीतमा “तिमी आफैं नेत्रहीन छौ…” बोलको मनबहादुर मुखियाको शब्द- रचनाको गीत रेकर्ड गराएर सांगीतिक यात्रा आरम्भ गरेका उनका ४ एकल संगीतका एल्बमहरु प्रकाशनमा आएका छन्। तीमध्ये “प्रेयसीलाई” शीर्षकको एकल एल्बममा भने उनको एकल संगीत र स्वरका गीतहरु रहेका छन्। नेपालयद्वरा आयोजित “पलेँटी” सांगीतिक श्रृङखला अन्तरगत पहिलोपटक कार्तिक २०६३ (अक्टोबर,२००६), दोस्रोपटक असार २०७१( जुन,२०१४ ) मा एकल सांगीतक कार्यक्रम प्रस्तुत गरेका उनको पछिल्लो एकल सांगीतक प्रस्तुति २०७५ सालमा राष्ट्रिय नाचघर, काठमाडौंमा भएको थियो।

थोरै संख्यमा उनले गीतहरु पनि लेखेका छन्। सुक्मित गुरुङ (ओमविक्रम विष्टका साथमा) को पहिलो गीत “सुन चाँदीभन्दा महँगो यो ज्यानलाई …” र डेजी बराइली तथा ओम विक्रम विष्टको स्वरमा रेकर्ड भएको “जोवन यसै बितिसक्यो…” बोलको गीत उनले लेेखे मध्येको गीतहरु हुन्। आफ्ना सिर्जनाका लागि उत्कृष्ट संगीतकार, रेडियो नेपाल (२०३७), सर्वश्रेष्ठ संगीतकार, दोस्रो भिडियो चलचित्र महोत्सव (२०४८), छिन्नलता गीत पुरस्कार (२०६०), साधना सम्मान (२०६०), ईमेज सम्मान (२०६३) राष्ट्रिय प्रतिभा पुरस्कार,नेपाल सरकार (२०६६), कल्यण शेरचन स्मृति प्रतिष्ठान सम्मान( २०६९) भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान (२०७७) जस्ता अनेकौं पुरस्कार/ सम्मानद्वारा सम्मानित प्रकाश गुरुङ युवा पुस्ताका धेरैजना गायक/गायिकाका सांगीतिक “गुरु” पनि हुन्।उनको साङ्गीतिक उत्तराधिकारीको रुपमा छोरी रीमा गुरुङ (होडा) ले गायनको क्षेत्रमा आफ्नो अलग र विशिष्ट पहिचान बनाइसकेकी छिन्।

एकीनसाथ भन्न नसके पनि चलचित्र, टेलिचलचित्र, नाटक, आधुनिक, बाल र राष्ट्रिय भावनाका समेत गरी १ हजारको हाराहारीमा आफ्ना संगीतका गीतहरु रेकर्ड भएको अनुमान गर्ने प्रकाश गुरुङलाई नेपाली संगीत परम्परामा नयाँ स्वाद पस्कने संगीतकारका रुपमा जो कसैले सम्झनै पर्ने हुन्छ। सहकार्यको सन्दर्भमा भने प्रकाश गुरुङ, ओमविक्रम विष्ट र सुक्मित गुरुङको “कम्बिनेशन” साँच्चै नै उपलब्धिमूलक रहेको प्रतीत हुन्छ।

• मेरो रहर ब्युँझिएर…( शिवशंकर थापा/ ओम विक्रम विष्ट)

• नभनीदेउ मेरो ओठको लाली…(श्रीविक्रम राणा / ओम विक्रम विष्ट)

• चोरी देउ चोरी देउ…( किरण खरेल/ उदितनारायण र कविता कृष्णमुर्ती/ चलचित्र:आघात)

• बोल! बोल! पाखाहरु!.. (दिनेश अधिकारी /सुक्मित गुरुङ चलचित्र : झुमा )

यी केही उदाहरण मात्र हुन् । उनको संगीतिक लोकप्रियताको। भिडियो चलचित्रहरु समर्पण, अभिलाषा, प्रेमकथा, सौगात, मायाको बन्धनका लागि आफ्नो सांगीतिक सिर्जना पस्केका प्रकाश गुरुङले ठूलो पर्दाका चलचित्रहरु झुमा, सडक, आन्दोलन, आघात, भगवान र अञ्जुली समेतलाई आफ्नो संगीतले सिंगारेका छन्।

चलनचल्तीका धुनबाट जहिले पनि बाहिर निस्कन खोज्ने प्रकाश गुरुङको संगीतमा पश्चिमेली स्वादको बाहुल्यता पाइन्छ। यो एउटा सत्य हो। यसरी नै उनका सिर्जनामा पूर्विय वा लोक संगीतको स्वाद पनि उत्तिकै पाइन्छ । त्यो अर्को सत्य हो। शाश्त्रीय संगीतमा आधारित “कस्तो बाण चलायौ आँखै – आँखामा…”(शब्द: चेतन कार्की, स्वर: रीमा गुरुङ) र ” मगमग मगमग बासना छ…” ( शब्द: दिनेश अधिकारी, स्वर: रीमा गुरुङ) बोलका गीतहरुलाई यसको दृष्टान्तको रुपमा लिन सकिन्छ।२०५६/५७ सालतिर विशेषतः गायन क्षेत्रमा संघर्षरत प्रतिभाहरुको खोजि गरी प्रतिस्पर्धाको माध्यमबाट उनिहरुको प्रतिभालाई प्रोत्साहित र पुरष्कृत गर्ने उद्देश्यले सञ्चालित सांगीतिक कार्यक्रम ” ब्राइटर: तिम्रो सुर, मेरो गीत” कार्यक्रम (रियालिटी सो)को पृष्ठभूमिमा रहेर अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका प्रकाश गुरुङले राष्ट्रिय महत्वका केही सांगीतिक कार्यक्रम (ईभेन्ट) को संयोजन पनि गरेका छन् भन्ने कुराको हेक्का कतिपयलाई नभएको हुन सक्छ।

२०४२ साल बैशाखमा प्रकाश गुरुङको संगीतमा रेडियो नेपालमा “परेलीमा आइबस्छ तिम्रो रुप घरिघरि…” बोलको मेरो पहिलो गीत रेकर्ड हुँदा संगीतकारसंग मेरो चिनाजानी थिएन। त्यो गीत मेरा मित्र/ गायक दीपेन्द्र विक्रम थापा (पूर्व सचिब, नेपाल सरकार) ले गाउनु भएको थियो र संगीतकारसंगको सहकार्य पनि उहाँले नै गर्नु भएको थियो। त्यसपछि मात्रै हो संगीतकार प्रकाश गुरुङसंग दोहोरो चिनाजानी भएको। चिनाजानीपछि हामी ” दाइ-भाइ ” भयौं र अहिले पनि त्यही सम्बन्धमा बाँधिएका छौं।

साढे ३ दशकभन्दा लामो यो अवधिमा प्रकाश दाइको संगीतमा मेरा ३९ वटा गीतहरु रेकर्ड भै प्रचारप्रसार आएका रहेछन् । यीमध्ये भिडियो चलचित्र “प्रेमकथा” “मायाको बन्धन” तथा ठूलो पर्दाका चलचित्रहरु “झुमा” र “सडक” का सबै गीतहरु र चलचित्र ” अञ्जुली” का ३ समेत गरी चलचित्रका लागि २१ गीतहरु मैले लेखेको रहेछु। एउटा सुखद संयोग के पनि परेको रहेछ भने प्रकाश दाइको संगीत रहेको र मैले पहिलोपटक गीत लेखेको भिडियो चलचित्र “प्रेमकथा” बाट दोस्रो भिडियो चलचित्र महोत्सव,२०४८ मा प्रकाश दाइले सर्वश्रेष्ठ संगीतकार, गायिका दिदी मीरा राणाले सर्वश्रेष्ठ गायिका र मैले सर्वश्रेष्ठ गीतकारको पुरस्कार पाएका रहेछौं ।

यसैगरी चलचित्र बाहेकका मेरा १८ गीतहरुमा प्रकाश गुरुङको संगीत प्रवाहित भएको अवस्था मसंग रहेको अभिलेखले देखाउँछ। फर्केर हेर्दा के पनि देखिन्छ भने संगीतकार प्रकाश गुरुङको योगदान राष्ट्रिय, द्वि-देशीय र अन्तर्राष्ट्रिय महत्त्व राख्ने देशभित्र आयोजना गरिएका विभिन्न कार्यक्रमहरु ( ईभेन्टहरु)मा समेत रहे-भएको पाइन्छ। जानकारीको दृष्टिले आफ्नै सन्दर्भमा सीमित रहेर कुरा गर्ने हो भने नेपाल-जापान सम्बन्धको स्वर्ण वर्षको अवसरमा (२०६३ साल) दुवै भाषामा रेकर्ड भै प्रयोगमा ल्याइएको २ देश बीचको मित्रताको शीर्ष गीत (Thime Song), प्रकृति संरक्षणका उद्देश्यले २०६४ सालमा विश्व वन्यजन्तु संरक्षण कोषको लागि तयार गरिएको शीर्ष गीत, पाँचौं राष्ट्रिय खेलकुद (२०६६ साल) को लागि तयार गरिएको शीर्ष गीत, नेपाल पर्यटन वर्ष सन् २०११ को शीर्ष गीत तथा तेह्राै दक्षिण एशियाली खेलकुद नेपालमा आयोजना गर्ने सन्दर्भमा हुने झण्डा हस्तान्तरण समारोहमा आयोजककातर्फबाट प्रस्तुत गरिएको (२०७२साल) शीर्ष गीत प्रकाश गुरुङको संगीतमा तयार भएका केही गीतहरु हुन, जसमा मेरा शब्द-रचना रहेका थिए। सबैथरि गीत मिसाउँदा अहिलेसम्म दीप श्रेष्ठ, मीरा राणा, प्रकाश श्रेष्ठ, उदितनारायण, किरण प्रधान, कुन्ति मोक्तान, सुक्मित गुरुङ, बिमला राई, सुनिता सुब्बा,रामकृष्ण ढकाल,रीमा गुरुङ, पवित्र सुब्बा, कुमार कान्छा, कविता कृष्णमुर्ती, साधना सरगमसमेतका ३१ जना गायक/ गायिकाहरुले प्रकाश गुरुङको संगीतमा मेरा गीतहरु गाउनु भएको रहेछ ।

साढे ३ दशकभन्दा लामो हामी बीचको सहकार्य र उठबसको मेरो अनुभवले के भन्छ भने प्रकाश गुरुङ गीतमा संगीत मात्र भर्दैनन्- गीतलाई पहिले अनुभूतिको उपल्लो तहमा भोग्छन र त्यसलाई आफुमा रुपान्तरण गरेर सांगीतिक सिर्जना गर्छन् । यस अर्थमा, गीतको भावना र मर्मलाई प्रकाश गुरुङको संगीतले आत्मसात गर्ने गरेकोछ भन्ने बलियो धारणा मभित्र विकसित भएको छ। यसो भन्दै गर्दा प्रसंगवश यो पनि भनिहालूँ- सुप्रशिध्द एवम् मेरा प्रिय गायक भाइ रामकृष्ण ढकालले त्यस बेलासम्म मेरो गीत गाउनु भएको थिएन। २०५४ सालको कुरा हो। एकदिन रामकृष्ण भाइ म कहाँ आउनु भयो र “कहिले छायाँसँग खसें, कहिले आँधी बीच पसेँ – जिन्दगीमा धेरै चोटि आफैंसँग टाढा बसें…” भन्ने बोलको गीत आफ्नो लागि छान्नु भयो। कसले संगीत गर्ने भन्ने विषयमा हामीबीच छलफल हुँदा मैले प्रकाश गुरुङको नाम प्रस्ताव गरें। त्यो समयमा समान्यतया यस्ता गीतका लागि उहाँलाई सम्झिइँदैनथ्यो। तर म उहाँप्रति विश्वस्त थिएँ।

रामकृष्ण भाइको वहुप्रसंशित एल्बम “आशा” मा संग्रहित प्रकाश गुरुङको संगीतको यो गीत मलाई त अत्यधिक मन पर्छ नै। धेरै पटक अ‍ौपचारिक कार्यक्रममा रामकृष्ण भाइले पनि यसलाई आफ्नो “मनको गीत” हो भन्ने अभिव्यक्ति दिनु भएको सुनेको छु। स्वभावका दृष्टिले उँचो महत्वाकांक्षा नभएका शान्त स्वभावका व्यक्ति हुन्-प्रकाश गुरुङ। हतार नगर्ने, तर ज्यादै लगनशील र समर्पित भावले आफ्नो सिर्जनात्मक काममा खट्ने उनी “कुरा थोरै र काम धेरै गर्ने ” मान्छेको पङ्तीमा पर्दछन् भन्ने मेरो ठम्याइ छ। काममा निखार ल्याउन कहिल्यै ढिलो हुँदैन भन्ने मान्यता हामी दुबैमा छ जस्तो लाग्छ। कतिपटक त रेकर्डिङको अन्तिम समयमा पनि मैले गीतका शब्दहरु परिवर्तन गरेको छु। त्यसबेला पनि प्रकाश दाइले अप्ठ्यारो मानेको अनुभव मैले कहिल्यै गरिँन। त्यतिमात्रै होइन, कतिपय संगीतकार संगीतका लागि आफूसमक्ष आएको गीत कुनै पनि बहानामा सच्याउन वा फेरबदल गर्न उद्यत हुन्छन् वा भनूँ त्यसो गर्न मन पराउँछन्। तर प्रकाश दाइसँग काम गर्दा कुनै पनि दिन मैले त्यस्तो अनुभव गर्नु परेन।

मलाई लाग्छ, प्रकाश गुरुङभित्र रहेको “सह अस्तित्व” को यो सोच आफैंमा एउटा सुन्दर पक्ष हो।संगीतकार प्रकाश गुरुङले अब करिबकरिब संघर्षको बाटो छोट्याइसकेका छन् र यहाँसम्म आइपुग्दा, नेपाली आधुनिक संगीत परम्परामा, आफ्नो योगदान र प्रभाव घाम जस्तै स्पष्ट रुपमा स्थापित गरिसकेका छन्। आउँदो भदौ ५ गते रेडियो कान्तिपुरले “सम्मान ज्युँदो इतिहासलाई ” कार्यक्रमका माध्यमबाट गर्न लागेको प्रकाश गुरुङको सम्मान आफैंमा महत्त्वपूर्ण अर्को सामाजिक स्वीकृति हो। यसका लागि स्रष्टा र संस्था दुवैलाई हार्दिक बधाई छ।

तस्वीरहरु सम्झनाको पुनर्ताजगीका लागि पनि खिचिन्छन्। प्रकाश दाइसँगका यी तस्वीरले पनि अहिले त्यही काम गरिरहेका छन्। पहिलो तस्वीर २०४६ माघमा भएको चलचित्र “झुमा” को शुभ मुहुर्तको अवसरमा खिचिएको हो। दोस्रो तस्वीर पोखरामा १७ माघ २०४८ सालमा सम्पन्न दोस्रो भिडियो चलचित्र महोत्सव सहभागी हुँदै गर्दा कार्यक्रम स्थलमा हामी २ जनासमेत देखिने गरी खिचिएको सामुहिक तस्वीर हो । तेस्रो तस्वीर त्यसकै भोलिपल्ट फेवातालमा डुङ्गा सवार गर्दैगर्दाको हो । चौथो तस्वीर प्रकाश दाइले १४ चैत, २०७७ मा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान” ग्रहण गर्नु भएपछि कार्यक्रमस्थल ललितपुरको सानेपामा खिचिएको हो । याे हामी दुईबीचको सबैभन्दा पछिल्लो तस्वीर पनि हो।