मौद्रिक नीतिको कारण नेप्सेमा दोहोरो अंकको गिरावट, २१ अर्ब ६४ करोड बढीको कारोबार

-



     सफल आवाज    
     श्रावण ३१ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३१ साउन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेलगत्तै यसको असर शेयर बजारमा देखिएको छ । नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको छ । कारोबार रकमले भने नयाँ रेकर्ड कायम गरेको छ ।

गएको शुक्रबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८, २०७९ को लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । उक्त नीतिमा समावेश गरिएको शेयर कर्जाको प्रवाधानप्रति लगानीकर्ताहरुले असन्तुष्टि जनाएका छन् । यसका बारेमा उनीहरुले अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाउँदै पुरानै व्यवस्था कायम गर्न माग पनि गरेका छन् । यसैको नकारात्मक असर शेयर बजारमा देखिएको हो ।

नयाँ आर्थिक वर्षको पहिलो महिना सकिनै लाग्दा साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेप्सेमा दोहोरो अंकको गिरावट आयाे । तीन उपसमूहबाहेक बाँकी १० वटा उपसमूहहरु राताम्मै भएका छन् । तर कारोबार रकममा भने नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक २४.८८ अंकले ओरालो लागेको छ । यसरी ओरालो लागेको नेप्से परिसूचक ३१५४.०३ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स १.९० अंकले घटेर ५८९.२८ विन्दुमा रहेको छ ।

कुल २२२ कम्पनीको शेयर कारोबार भएको छ । ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयरको खरिदबिक्री भएको छ । यसबाट २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँ बराबरको कारोबारु भएको छ ।

१३ उपसमूहमध्ये उत्पादन उपसमूहतर्फ २.३५ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्सतर्फ २ प्रतिशत तथा लगानी उपसमूहतर्फ ०.५६ प्रतिशतले बृद्धि भएको छ । बाँकी रहेका १० उपसमूहहरु राताम्मै भएका छन् ।

बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, अन्य, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहसहित सबैको शेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको १ अर्ब ५४ करोड ४ लाख ६६ हजार ५७४ रुपैयाँ बराबरको कारोबार भएको छ ।