हेर्दाहेर्दै यसरी भासियो…

-



     सफल आवाज    
     भाद्र ७ गते २०७८ मा प्रकाशित



पोखरा, ७ भदौ । ‘हिजो बिहानसम्म सानो दुलो थियो । तर, बेलुका भत्कँदाभत्कँदै अहिले यो बिजोग भो ।’

पोखरा महेन्द्रपुलस्थित गरिमा विकास बैंकका सुरक्षागार्ड कृष्ण नेपालीको भनाइ हो, यो । उनी महेन्द्रपुलको सडक तथा सडकपेटी भत्किएको घटनाको प्रत्यक्ष साक्षी हुन् ।

आँखै अगाडि नपत्याउँदो किसिमले जमिनै भासिँदा उनी पनि चकित छन्।

अविरल वर्षाका कारण गएराति पोखराको मुख्यबजार महेन्द्रपुलस्थित गरिमा विकास बैंक र उत्तम भाँडा पसल अगाडि (सेलवेज डिपार्टमेन्टल स्टोरको ठिक पारी) को सडक तथा पेटी भासिएको हो । भासिएको सडक स्थानीयको सहयोगमा गएराति नै प्रहरीले पुरेको भए पनि फेरि फैलिँदा जाँदा सडकपेटीसम्म पुगेको छ । स्थानीयवासी यसखालको घटनाले त्रसित छन् । मानिसहरुलाई सडकपेटीबाट आवतजावत गर्न दिइएको छैन । सुरक्षाका लागि पाल टाँगिएको छ । प्रहरीले निरन्तर पहरा दिएको छ ।

‘हिजो बिहान यहाँ सानो दुलो थियो’ बैंकका सुरक्षागार्ड कृष्ण नेपालीले भने । पानी निरन्तर परिरहेको थियो । पानीले भरिएको सो प्वालमा उनले ढुंगा फाले । ‘छप्लङ्ग’ आवाज आयो ।

यो कुरा उनले छिमेकी घरका घरभेटीलाई भने । भुइँतलामा उत्तम भाँडा पसल रहेको भवनका घरभेटीलाई सो कुरा सुनाएपछि घरभेटीले दिउँसो पुरपार पारे । कसैलाई खबर गरेनन् । साँझ भयो ।

पानी रोकिएको थिएन । राति ‘घत्रक्क’ आवाज आयो ।

सुरक्षागार्ड कृष्ण अनौठो आवाज सुनेपछि बैंकको गेटबाट बाहिर निस्के । सडक छेउमा ठूलो प्वाल पर्ने गरी भासिएको रहेछ । उनी आश्चर्यचकित भए ।

आइतबार राति महेन्द्रपुलस्थित भासिएको सडक र पेटी । तस्बिर: सफल आवाज

स्थानीयसहित सर्वसाधारण पनि के भएछ भनी जुटे । पछि प्रहरीलाई खबर भयो । पानी अविरल परिरहेकै थियो । खाडलमा पुरिनै लागेको नानो कार सुरक्षित स्थानमा उचालेरै लगियो । जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा ७ ट्रक गिट्टी र ढुंगा ल्याएर पुरपार भयो । तर भासिने क्रम रोकिएको थिएन । राति २ बजेसम्म त बैंक अगाडि र भाँडा पसल अगाडिका सडक भासिइसकेको थियो ।

प्रहरी टोलीले भ्वाङ परेको सडकसँगैका घरका बासिन्दालाई उठाउन सिठी फुकेर खतरा भएको संकेत दिए । त्यस छेउछाउका मानिसले आफूहरु रातभर नसुतेको बताए ।

वर्षासँगै बगेको भल सडकको भ्वाङभित्र पसेर थप घर नोक्सानी पार्ने खतरा बढेपछि ट्रकमा ढुंगा गिट्टी सहित ग्रेग्रान, बोरा, टिन प्रयोग गरेर भल तर्काउने प्रयास गरिएको हो । तेर्सापट्टि तथा नदीपुर हुँदै आउने पानीको भेल तर्काइयो । खाडलमा पर्न दिइएन । प्रहरीले स्थानीयवासीको सहयोगमा वर्षाको बावजुद पनि खाडल पुरेको हो ।

सडक भासिएको फोटो र समाचार एकाएक भाइरल बनेपछि सोमबार बिहान नहुँदै मानिसहरुको त्यस ठाउँमा ठूलै भिड जम्मा भइसकेको थियो । जनप्रतिनिधि पनि त्यहाँ पुगे । तर के गर्ने भन्ने यकिन भएन । किनकि प्राकृतिक विपत्ति आइलाग्यो ।

पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले विगतमा त्यस ठाउँ जाइकाले पानीको पाइप बिछ्याउन खनेको र सामान्य पुरपार पार्दा यस्तो घटना भएको दाबी गर्छन् । उनले हालका लागि भलपानी तर्काउने, खाडल पुर्ने र भविष्यमा के गर्ने भन्ने बसेर छलफल गरिने बताए ।

पोखरामा विगतमा पनि यसप्रकृतिका घटना नदोहोरिएका होइनन् । मात्र ठाउँमात्र फरक थियो ।

सेती नदीभन्दा पश्चिम क्षेत्रको भूभाग चुनढुंगायुक्त जमिनले बनेकोले पानीले चुन पगालेर जमिन खोक्रो बनाउने हुँदा जमिन भास्सिने गरेको भूगर्भविद् बताउँछन् । उनीहरुले सेती किनारा आसपासका क्षेत्रलाई अति जोखिमपूर्ण कमजोर धरातल भन्दै त्यस क्षेत्रमा ठूला भवन बनाउन नहुने सुझाव दिँदै आएका छन् । तर स्थानीयले सेती किनाराको जग्गा अतिक्रमण गर्दै मापदण्ड मिचेर अग्लाअग्ला भवन ठड्याउँदै आएको पाइन्छ ।

भूगर्भविद् डा. कृष्ण केसीले लामो खडेरीपछि भएको ठूला वर्षाले जमिन भास्सिने र भत्किने बताए । सेती पश्चिमतर्फको जमिन चुनढुंगाले बनेकोले पानीले गलाएर लग्ने भएकोले जमिन खोक्रो बन्दै भ्वाङ पर्ने र भास्सिने गरेको उनको भनाइ छ ।

पोखरामा विगतमा पनि नदीपुर, अर्मला, सिमलचौर, भलाम, हेमजा, बाटुलेचौर, मालेपाटन, बिरौटा, डेभिडफल्स, गैह्रापाटन लगायतका स्थान अविरल वर्षापछि जमिन भासिने गरेको घटना बाहिरिएको थियो ।