
काठमाडौं, १५ भदौ । नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्डस्बाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ । चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई विगतमा जलाएर नष्ट गरिन्थ्यो ।
सो देशको एक कम्पनीसँग सन् २०२० भएको सम्झौताअनुसार आठ मेशिन ल्याउने सहमतिअनुसार हालै आइपुगेका चार मेशिनबाट पहिलो चरणमा काठमाडौँ, विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा जडान गरी जलाइएका नोटबाट ब्रिकेट उत्पादन गरिने नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागमा प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार सो मेशिनबाट काठमाडौँमा ब्रिकेट उत्पादन गर्न सुरु भइसकेको छ भने आजै नेपालगञ्जबाट पनि थालनी गरिनेछ र छिट्टै अन्य दुई स्थानबाट पनि उत्पादन हुनेछ ।
“आगामी असोजसम्म बाँकी चारवटा मेशिन पनि झिकाई जनकपुर, पोखरा, भैरहवा र धनगढीबाट उत्पादन सुरु हुनेछ”, उनले भने । पहिलोपटक जलाइएका चार सय बन्डल नोटबाट करिब चार सय केजी खरानी निस्केको थियो । नोटको आकारअनुसार खरानीको परिणाम फरक पर्ने उनको भनाइ छ । चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई जलाउन झन्झटिलो हुने तथा धुवाँधुलोले वातावरण प्रदूषण हुने भएकाले आधुनिक प्रविधिअनुसार धुलाउने र त्यसलाई अन्य प्रयोजनमा ल्याउन सकिने भएकाले बैंकले उपकरण खरिद गरेको जनाएको छ ।
प्रमुख नेपालका अनुसार उपकरणको पहिलो भागले नोटलाई टुक्र्याउने काम गर्दछ भने दोस्रो भागले ब्रिकेट तयार गर्दछ । यसरी उत्पादन गरिएका ब्रिकेटलाई इँटाभट्टा वा कोइला प्रयोग हुने उद्योग, कारखानादेखि घरायसी प्रयोजनमा ल्याउन सकिने उनले जानकारी दिए। बैंकले प्रतिवर्ष करिब रु ४०–४५ अर्बको नोट नष्ट गर्ने गर्दछ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



