
काठमाडौं, ९ आसोज । काठमाडाैं महानगरपालिकाले पानीको स्रोत जोगाउन भूमिगत पानी पुनःभरण र आकासेपानी सङ्कलन प्रणाली निर्माण थालेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार नन्दी स्कुलमा आकासेपानी सङ्कलन तथा भूमिगत पानी पुनःभरण प्रणाली निर्माणको शिलान्यास गरे । सोही क्रममा कामपाका प्रमुख शाक्यले ‘प्राणी जीवन र वातावरण दुवै क्षेत्रमा पानी नभई नहुने भएकाले सम्भावित जोखिमबाट बच्न कामपाले आकासेपानी सङ्कलन र जमिन पुनःभरण प्रणाली निर्माण गर्न योजना बनाएर अगाडि बढाएको हो भने।
“अहिले डिप बोरिङ गरेर पानी निकाल्ने काम मात्र भएको छ । यसले जमिनमुनि पानीको सतह घट्याे । अब त्यो सतह बढाउने काम गर्नुपर्छ”, कामपा–१ का अध्यक्ष भरतलाल श्रेष्ठले भने । उनले नन्दी स्कुलको जमिनबाट पानीभित्र पठाएपछि यस आसपासमा भएका ढुङ्गेधारामा पानीको बहाव बढ्ने अपेक्षा गरे । महानगरको वातावरण इन्जिनियर निशा कोइरालाले उक्त विद्यालयको २९७ वर्गमिटर जलाधार क्षेत्रबाट जम्मा भएको पानी ७५० लिटरको पोली ट्याङ्क फ्लस डाइभर्टरमा पठाइन्छ भनिन् ।
जलाधार क्षेत्रमा भएको धुलो, कसिङ्गर वा अन्य फोहरसहितको पानी यसमा भरिन्छ । त्यसपछिको सफा पानी ट्याङ्क हुँदै एक हजार लिटरको फिल्टर युनिटमा पुग्छ । रोडा र बालुवामा त्यहाँबाट छानिएको पानी भूमिगत ट्याङ्कमा खस्छ । पानी जम्मा गर्न ६ मिटर लम्बाइ, चार मिटर चौडाइ र १ दशमलव ८ मिटर उचाइ भएको ४१ हजार ७६० लिटर क्षमताको ट्याङ्क बनाइनेछ । उक्त पुनःभरण प्रणालीका विषयमा जानकारी थप्दै उनले भने, “ ट्याङ्की भरिएर आएको पानीलाई ४८ इन्चको रिङमार्फत जमिनमुनि पठाइन्छ ।
यो रिङमा सानाठूला रोडा र बालुवाको तह बनाइएको हुन्छ ।” यो प्रणाली करिब रु ११ लाख २० हजारमा निर्माण हुन लागेको हो । कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले वडा ५ कार्यालय परिसरमा पनि यस्तै प्रकारको प्रणाली जडान गर्ने योजना रहेको उल्लेख गर्दै यसअघि कामपाले ०७६ साल फागुन ६ गते वडा २६ को गोङ्गबु आवास क्षेत्रको डबलीमा नमूना पानी पुनःभरण प्रणाली सुरु गरेको जानकारी दिए।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



