६.६८ अंकले घट्याे नेप्से, ३ अर्ब ६२ करोड बढीकाे काराेबार

-



     सफल आवाज    
     असाेज १८ गते २०७८ मा प्रकाशित



काठमाडाैं, १८ असाेज । साताको कारोबार हुने दोश्रो दिन शेयर बजार ओरालो लागेको छ । चार उपसमूहहरु होटल तथा पर्यटन, अन्य, माइक्रोफाइनान्स र जीवन बीमातर्फ बृद्धि भएपनि ९ वटा उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ । कारोबार रकममा पनि गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.६८ अंकले घटेर २५७०.८१ विन्दुमा झरेको छ । नेप्से ०.२६ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स १.२८ घटेर ४८४.९८ विन्दुमा पुगेको छ ।

कुल २२७ कम्पनीको शेयर कारोबार भएको छ । ७६ लाख ५३ हजार २२० कित्ता शेयरको खरिदबिक्रीबाट ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै बैंकिङ् तीन दशमलव ८८, विकास बैंक ८६ दशमलव ४, वित्त ५२ दशमलव ९३, जलविद्युुत् ६५ दशमलव ०८, लगानी शून्य दशमलव ६४, उत्पादन ३२ दशमलव ४३, सामूहिक लगानी कोष शून्य दशमलव १०, निर्जीवन बीमा १३ दशमलव १७ अङ्कले घटेका छन् । कारोबारका आधारमा आज युनाइटेड मोदी हाईड्रोपावर लिमिटेड शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको रु १२ करोड १२ लाख १६ हजार ७७४ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै नेपाल बैंक लिमिटेड रु ११ करोड ३५ लाख १४ हजार ९८६, हिमालयन डिस्टिलरी रु १० करोड २९ लाख ९६ हजार ८३९, नेशनल हाईड्रोपावर रु नौ करोड ५४ लाख १३ हजार ६७८ र रैराङ्ग हाईड्रोपावर रु नौ करोड २२ लाख ७४ हजार ३१ मूल्यमा कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा आशा लघुवित्त वित्तीय संस्था कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै मैलुङ खोला जलविद्युत् कम्पनी, सपोर्ट लघुवित्त, मिथिला लघुवित्त, महिला लघुवित्तका लगानीकर्ताले नौ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

आजको कारोबारमा मनकामना स्मार्ट लघुवित्त नौ दशमलव ३८, दिव्यश्वरी हाईड्रोपावर सात दशमलव १९ राधि विद्युत् कम्पनी छ दशमलव ५७, माउण्टेन हाइड्रोपावर छ दशमलव २३ र ङादी ग्रुप पावर लिमिटेडका लगानीकर्ताले छ दशमलव ०८ प्रतिशतले गुमाए ।शेयर कारोबार हुने साताको दोस्रो दिनमा आइपुग्दा बजार पूँजीकरण घटेर रु ३५ खर्ब ९८ अर्ब ६८ करोड ६८ लाख ८० हजारको हाराहारीमा ओर्लेको छ ।