एमालेले चाह्यो भने सरकार एक हप्तामै ढल्छ : अध्यक्ष ओली

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारलाई एक हप्तामा ढाल्न सक्ने क्षमता आफुहरुसँग रहेको दावी गरेका छन् ।

सरकारबाट बर्हिमगन भएपछि पार्टीका विभिन्न गतिविधिहरुलाई निरन्तरता दिएका अध्यक्ष ओलीले आफुहरुले चाहेको खण्डमा सरकार एक हप्तामा ढल्ने बताए पनि तत्कालै उक्त कदम नउठाउने स्पष्ट पारे ।

आज काठमाडौंमा बागमती प्रदेश अधिवेशन आयोजक कमिटिले आयोजना गरेको पहिलो बैठकमा ओलीले भने, सरकार ढाल्ने हो भने त एक हप्ताभन्दा बढी लाग्दैन अहिलेको सरकार ढल्छ एमालेले चहेको खण्डमा ।

ओलीले भने, उनीहरुले गरेको जस्तो यस्तै, त्यस्तै उस्तै साँठगाँठको लगनगाँठो गाँस्ने हो भने त हामी हप्तामा सरकार ढालिदिन्छौं । देख्नु भएन ? लोभिपापीहरु छन्, उनीहरुलाई दिए भैगो । दिएपछि सरकार ढल्नलाई के को भारि, बडेमानको कुरा हो र, उनले भने ।

अध्यक्ष ओलीले संवोधनको क्रममा आफ्नो पार्टी देश बनाउने कुरामा विश्वास गर्ने भएकोले देश बनाउने यात्रा प्रस्ट भएपछि मात्रै सरकारमा जाने बताए ।

आगामि निर्वाचनमा एमाले देश बनाउन सरकारमा जान्छ । ओलीले भने, हामी सरकार बनाउनका लागि जाँदैनाै किनभने हाम्रो उदेश्य देश नै बनाउने हाे त्यसैले निर्वाचनमा एमालेलाई विजयी गराउने दिशामा हिंडेका छौं ।