उद्धार, राहत र बजेट व्यवस्थापनका कार्यक्रमलाई अगाडि बढाइनेछः प्रधानमन्त्री देउवा

-


     सफल आवाज    
     कार्तिक ४ गते २०७८ मा प्रकाशित


बझाङ, ४ कात्तिक । बाढीपहिराले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बझाङको स्थलगत निरीक्षण गरेका छन् । सो अवसरमा उनले बाढीपहिराले बझाङमा पुर्याएको क्षतिबारे विपद् व्यवस्थापन समितिका जिल्ला संयोजक तथा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीबाट जानकारी लिए ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङको तर्फबाट नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधि चेतराज बजालले जिल्लामा नौ जनाको मृत्यु र २१ जना बेपत्ता रहेकाले उनीहरुको खोजी र पीडित पक्षलाई राहतको व्यवस्थापन गर्नुपर्ने, घरविहीन भएकालाई घर निर्माण तथा पुनःबासको व्यवस्था गर्नुपर्ने, जयपृथ्वी राजमार्ग, पुल जलविद्युत्, खानेपानी छिटो मर्मत तथा सञ्चालन गर्नुपर्नेलगायतका ६ बुँदे मागपत्र प्रधानमन्त्रीलाई बुझाए ।

उक्त मागपत्रका बारेमा प्रधानमन्त्री देउवाले बझाङमा भएको दुःखद् घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले उद्धार, राहत र बजेट व्यवस्थापनका कार्यक्रमलाई आगाडि बढाउने बताए ।

थलारा हेलिकोप्टर अवतरण हुन सकेन

बाढीपहिराले पु¥याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री देउवा बझाङको थलारा गाउँपालिका–४ डिख्ला जाने कार्यतालिका रहेको भए पनि खराब मौसमका कारण हेलिकोप्टर अवतरण हुन सकेन ।

प्रधानमन्त्री देउवाले बझाङस्थित सेनाकै हलमा जिल्ला प्रशासन, सुरक्षा निकाय र जिल्लाका प्रमुख व्यक्तिसँग बाढीपहिराले बझाङमा पुरयाएको क्षतिबारे जानकारी लिए । प्रधानमन्त्रीसँगै अर्थमन्त्री जर्नादन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलगायत सहभागी थिए ।