इन्सेकले गर्याे ‘महामारी र विपदले नागरिक समाजमा पारेकाे असर’ सम्बन्धी प्रतिवेदनमाथि छलफल(भिडियाे)

-



     आरजू विष्ट सल्यानी    
     कार्तिक २९ गते २०७८ मा प्रकाशित



पोखरा, २९ कात्तिक । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले महामारी र विपदले नागिरक समाजमा पारेकाे असर सम्बन्धी एक अध्ययन प्रतिवेदनमाथि पाेखरामा छलफल गरेकाे छ । इन्सेक गण्डकीको आयोजनामा महामारी र विपदले नागरिक समाजमा पारेको असर’ सम्बन्धी प्रतिवेदन इन्सेककी केन्द्रीय संयोजक सम्झा श्रेष्ठले एक कार्यक्रमकाबिच सोमबार पोखरामा प्रस्तुत गरिन् ।

प्रतिवेदनमा पहिलो चरणको लकडाउनमा नागरिकप्रति सरकार कडा रुपमा प्रस्तुत भएको, अत्यावश्यक औषधिमा कालोबजारी, सरकारले राहत बाँडेपनि पहुँचवालाले राहत पाएको उल्लेख गरिएको बताइन ।

महामारीका कारण घरेलु हिंसाका घटनामा वृद्धि भएका, राजनीतिक दलहरुले ठूलाठूला भेला गरेपनि नागरिकको हिँडडुल गर्ने अधिकारमाथि बन्देज लगाउनुकासाथै नागरिकको अभिव्यक्ति स्वतन्त्रमा बन्देज लगाउने काम गरेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । संयोजक श्रेष्ठले महामारीले पारेको प्रभाव बारे इन्सेकले ७७ वटै जिल्लामा अनुगमन गरिरहेकाे बताइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री जगत विश्वकर्माले सरकारका सकारात्मक कामलाई सहयोग गर्नु र गल्ती तथा कमजोरीमा खवरदारी गर्नु नागरिकको दायित्व भएको बताए । कोभिडले सिकाएका सकारात्मक पक्षलाई प्रतिवेदनमा समेटन उनले आग्रह गरे । कोभिड विश्वका लागि नै नयाँ भएकाले सामान्य र संकटकालीन अवस्थाका बारेमा नागरिक पनि सजग हुनुपर्ने उनले बताए ।

राष्ट्रिय मानवअधिकार आयोग गण्डकीका प्रमुख चन्द्रकान्त चापागाईले महामारी र विपदको समयमा संघ र प्रदेश सरकार भन्दा स्थानीय सरकार बढी सक्रिय हुनुपर्ने बताए । त्यस्तै पोखरा महानगरपालिकी सामाजिक विकास शाखा प्रमुख बिष्णुमाया पौडेलले नागरिकको समस्या समाधानका लागि तीन तहको सरकार स्थापना भएको तर अझैपनि नागरिकले गाउँगाउँमा सिंहदरबारको अनुभूति गर्न नपाएको बताइन् ।

अधिवक्ता गिरिधारी सुवेदीले स्थानीय, प्रदेश र संघमा भ्रष्टाचारले प्रशय पाएको, महंगी र कालोबजारीमा वृद्धि भएको बताउदै भविष्यमा हुन सक्ने यस्ता कुराहरुलाई राज्यले रोक्नुपर्ने बताए । अपांगता स्वाबलम्बन विकाश संघ कास्कीका अध्यक्ष गिरिधारी सुवेदीले पोखरामा अपांगमैत्री सडक नहुँदा अपांगता भएका व्यक्तिले हिँडडुलमा कठिनाइ भोग्नुपरेको गुनासो गरे । क बर्गको अपांगता भएका व्यक्ति खोपबाट समेत वञ्चित हुनुपरेको उनले बताए ।

नेपाल ट्रेड युनियन महासंघ गण्डकीका अध्यक्ष रुद्र खत्रीले अधिकांश मजदुरले न्युनतम पारिश्रमिक समेत पाउन नसकेको भन्दै कार्यान्वयन हुनुपर्नेमा जोडदिए । अधिकारकर्मी खगराज आचार्यले स्वास्थ्य सामग्रीमा व्यापक भ्रष्टाचार भएको, राहत वितरण प्रभावकारी हुन नसकेको बताए ।

एसियन फोरम कास्कीका अध्यक्ष तिलक थापाले कोरोनाबाट संक्रमित व्यक्तिहरु समाजबाट अपहेलिन हुनुपरेको उल्लेख गरे । उनले महामारीलाई राजनीतिकरण गर्न खोजिएको आरोप समेत लगाए । गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष पदमराज पहारीले राज्यसंग हातेमालो गर्न तयार रहेको उल्लेख गर्दै नागरिकका समस्यालाई राज्यले सम्बोधन गर्नुपर्ने बताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले कोभिड मात्र नभइ हरेक महामारीकाे समयमा इन्सेकले सहजीकरण गर्दै आएको उल्लेख गरे । कोरोना महामारीका कारण आफूहरुले मानसिक तनाव समेत झेल्नुपरेको उनको भनाई थियो । इन्सेकले ७ वटै प्रदेशमा छलफल गर्ने संयोजक खकुरेलले बताए । कार्यक्रममा सिविन नेपालका शंकर नेपाली, नौलो विहानीका सुवास सापकोटा, गोरेटो नेपालकी बिमला गुरुङ र नगर बालमञ्च कास्कीकी सविना रानाभाट लगायतले बोलेका थिए । कार्यक्रम इन्सेक गण्डकीका कार्यक्रम अधिकृत सवनम शर्माकाे स‌चालन गरेकी थिइन ।

प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री जगत विश्वकर्माकाे भनाइ:

video-safalawaj.com